हेटौँडा : बागमती प्रदेशसभामा ३ वटा नयाँ विधेयकहरु दर्ता भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार मंगलबार ३ वटा संशोधन विधेयक दर्ता भएको हो ।

प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताका अनुसार प्रदेशसभाको आगामी अधिवेशनमा पेश हुनेगरी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक यसअघि नै प्रदेशसभामा दर्ताका लागि पेश भएको थियो । तर, सभामुख भुवन कुमार पाठकले उक्त विधेयक दर्ता गर्नुभएको थिएन । उक्त विधेयकका प्रावधान सच्याउन सभामुख पाठकले फिर्ता गर्नुभएको हो । गत असोज १६ मा मन्त्रिपरिषद्बाट निर्णय गर्दै दर्ताका लागि सचिवालयमा पेश भएको उक्त ४ महिनापछि दर्ता भएको हो ।
संशोधन प्रस्तावका केही प्रावधान अपुग भएको भन्दै प्रदेशसभाका सभामुख पाठकले उक्त विधेयकका विषयमा पुनःविचार गर्न दर्ता गर्नुभएको थिएन । मन्त्रालय खडा गरिएको ४ वर्षपछि ऐन संशोधनको तयारी भए पनि आवश्यक व्यवस्थाहरु विधेयकमा समावेश हुनुपर्ने राजनीतिक नियुक्तिका विषयहरु स्पष्ट नगरी पठाएकाले दर्ता गरिएको थिएन ।

प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा समस्या देखिएपछि प्रदेश सरकारले तत्कालको समस्या हल गर्न ऐन संशोधनको प्रस्ताव दर्ता गर्ने मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । विशेषगरी ऐनमा भएको पदाधिकारी नियुक्तिका विषयमा केही अस्पष्टता रहेकाले सुधार गर्न दर्ता नगरिएको सभामुख पाठकले सुझाव दिनुभएको थियो । ऐनमा पदाधिकारीको योग्यता, कार्य अवधि लगायतका विषयहरु तोकिए बमोजिम हुने भनिएको र त्यसलाई सुधार गरेर ती विषयहरु ऐनमा नै कायम गर्न सुझाव दिइएको थियो । उक्त विषयमा सरकार सकारात्मक रहेकाले सो विषयहरू समावेश भएर आए लगत्तै विधेयक दर्ता गर्ने उहाँको तयारी भएपनि सरकारले विधेयकका प्रावधानहरु नसच्याई दर्ता गरेको हो । प्रदेशसभामा यसअघि प्रदेश खेलकुद परिषद् ऐन संशोधन विधेयक दर्ता गरेको थियो । उक्त विधेयकहरु प्रदेश सभाको आगामी अधिवेशन बैठकबाट पारित गर्नेगरी अघि बढाउने तयारी रहेको छ ।