हेटौंडा ः हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको प्रधानाध्यापकमा रामकुमार बर्तौला नियुक्त हुनु भएको छ । मंगलबारदेखि बर्तौलाले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघिका प्रधानाध्यापक हस्तलाल श्रेष्ठले राजिनामा दिनुभएपछि विद्यालय व्यवस्थापन समितिले बर्तौलालाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
आफ्नो कार्यकालमा सोचे जति काम करिब पूरा भएको श्रेष्ठले बताउनुभयो । विद्यालयमा भएको दुई वटा बस मध्ये एउटा बस बिग्रिएको र बिग्रिएको बस मर्मत गर्न सके थप विद्यार्थीलाई सेवा दिन सकिने उहाँको भनाइ छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आफूले सक्दो काम गर्ने नवनियुक्त प्रधानाध्यापक बर्तौलाको भनाइ छ । प्रधानाध्यापक बर्तौलाले विद्यार्थीलाई अनुशासित बनाउन काम गर्ने बताउनुभएको छ । विद्यार्थीलाई अनुशासित राख्न प्रत्येक कक्षामा मनिटर तोक्ने उहाँले बताउनुभयो । एसईई नजिकिँदै गर्दा कक्षा १० मा अध्ययनरत ६१ जना विद्यार्थीमध्ये केही विद्यार्थी अतिरिक्त कक्षामा सहभागी नभएको विषयमा अभिभावकसँग छलफल गर्ने प्रधानाध्यापक बर्तौलाले बताउनुभयो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ५ सय ५८ जना विद्यार्थी अध्ययनरत छन् ।
अहिले इसीडी कक्षा मात्रै सञ्चालन भइरहेको त्रिभुवन माविमा नर्सरी र केजी कक्षाको रुपमा व्यवस्थापत गर्ने योजना रहेको बर्तौला बताउनुहुन्छ । वडा कार्यालयसँगको समन्वयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीको सिकाई प्रभावकारिता तथा सिकाई उपलब्धी बढाउन अतिरिक्त कक्षा र उपचारात्मक कक्षा सञ्चालन गर्ने उहाँको भनाइ छ ।
राजमार्गसँगैको विद्यालय भएकोले विद्यार्थीको सुरक्षा, बसमार्फत सेवा लिने विद्यार्थीलाई सुरक्षित ल्याउने लैजाने व्यवस्था मिलाउने र अनुशासन कायम राख्ने विषय आफ्ना लागि चुनौतिपूर्ण भएको उल्लेख गर्नुहुँदै नवनियुक्त प्रधानाध्यापकले भन्नुभयो, “शिक्षकहरु राम्रो गरौं भन्ने हुनुहुन्छ । शिक्षकको सामूहिक प्रयास सुनिश्चित गर्न सक्दा, व्यवस्थापन समितिलाई क्रियाशील गराउँदै वडाको सहयोग रहँदा विद्यालयको वातावरण र शैक्षिक अवस्थामा सुधार गर्न सक्छु भन्ने लागेको छ ।”
२०७३ सालमा शिक्षक सेवा आयोगको परीक्षामा सामाजिक शिक्षा विषयको मावि तहमा साविक मध्यमाञ्चल विकास क्षेत्रमै १ नम्बरमा नाम निकाल्न सफल बर्तौलाले बारा जिल्लाको कलैया उपमहानगरपालिकाको बरेवास्थित दुर्गा माध्यमिक विद्यालयमा १५ महिना शिक्षण गर्नुभयो । २०७५ सालमा मकवानपुरको कैलाश गाउँपालिका–९ स्थित कालिका माविमा सरुवा भएर आउनुभएका बर्तौला २०७८ साल जेठ महिनादेखि त्रिभुवन माध्यमिक विद्यालयमा अध्यापनरत हुनुहुन्छ ।
कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका माविबाट एसएलसी उत्तीर्ण गर्नुभएका बर्तौलाले दश जोड दुई तहको शिक्षा हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टबाट पूरा गर्नुभयो । शिक्षा शास्त्र संकायमा मूल विषय जनसंख्या लिई मकवानपुर बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गर्नुभएका बर्तौलाले पर्सा जिल्लाको बीरगन्ज महानगरपालिकास्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट स्नात्तकोत्तर तह उत्तीर्ण गर्नुभएको छ ।