हेटौंडा: जिल्ला प्रहरी कार्यालय मकवानपुरले १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतबाट फैसला कार्यान्वन अन्तर्गत वरदातपश्चात् विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार फरार प्रतिवादीहरु पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभएको छ ।
प्रहरीले धादिङ जिल्ला गजुरी गाउँपालिका–८, किरणचोक बस्ने ३० वर्षीय अनिल भन्ने केशबबहादुर तामाङलाई पक्राउ गरेको छ । उनी लागूऔषध अफिमको मुद्दामा फरार रहेका थिए । उनलाई मकवानपुर जिल्ला अदालतले १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवान हुनेगरी फैसला सुनाएको थियो ।
यस्त लुटपाट मुद्दामा फरार रहेका मकवानपुरको बकैया गाउँपालिकाका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सुन्दर सिंह मोक्तानलाई ९ सय ३० रुपैयाँ, सुवास सिंह गोलेलाई १ हजार ८ सय ३० रुपैयाँ, जीतबहादुर गोलेलाई ९ सय ३० रुपैयाँ, मने मुक्तानलाई ९ सय ३० रुपैयाँ, रामलाल गोलेलाई ९ सय ३० रुपैयाँ र मंगल सिंह मोक्तानलाई ९ सय रुपैयाँ जरिवाना हुनेगरी सजाय तोकिएको थियो ।
कुटपिटबाट गर्भपतन गरेको मुद्दामा जरिवाना तोकिएका ५ जना प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनही ९ सय ३० रुपैयाँ जरिवाना तोकिएका गणेशबहादुर मोक्तान र आइते सिंह मुक्तान छन् । यस्तै, जनही २ सय रुपैयाँ जरिवाना तोकिएका मकवानपुरगढी गाउँपालिकाका मञ्जु हुमागाईं, भागिरथी हुमागाईं र देवकी तिमल्सिना पनि पक्राउ परेका हुन् ।
प्रहरीले चेक अनादरको मुद्दामा फरार रहेका हेटौंडा–१६ का सुरेश आचार्यलाई पनि पक्राउ गरेको छ । आचार्यलाई ५ सय रुपैयाँ जरिवाना हुनेगरी अदालतले फैसला सुनाएको थियो ।