हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समाज परिवर्तनका लागि युवाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । मुस्लिम युवा समाज मकवानपुरको मंगलबार हेटौंडामा भएको तेस्रो साधारणसभामा बोल्नुहुँदै प्रमुख खुलालले युवाहरु समाजलाई सकारात्मकतातर्फ डोर्याउँदै समृद्धि प्राप्ती तर्फ लाग्नु पर्ने बताउनुभयो ।
प्रमुख खुलालले समाजमा बढ्दो नकारात्मकता र गलत प्रवृत्ति बिरुद्धमा युवाहरु जुट्न जरुरी रहेको बताउनुभयो । मुलुकका विभिन्न परिवर्तनमा मुस्लिम समुदाय र मुस्लिम युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रमुख खुलालले सबैको एकताबद्ध पहलबाट नै समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले युवालाई नकारात्मकता तर्फ लाग्नु भन्दा देश निर्माणको अभियानमा जुटन आग्रह समेत गर्नुभयो । नेपाल विविधतायुक्त राष्ट्र भएकाले विविधताका बीच धार्मिक सद्भावको विकास गर्ने जिम्मा युवाहरुकै काँधमा रहेको प्रमुख खुलालको भनाइ थियो । नेपाली समाज धेरै जातजाती तथा भाषाभाषीबाट निर्माण भएको भन्दै उहाँले सबै क्षेत्रका युवाहरु मिलेर देश विकासको अभियानमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विविधतापूर्ण देशमा सकारात्मकतातर्फ लाने काम युवाहरुको काँधमा रहेको छ । सबैको संस्कृति स्वीकार्दै सबैको धर्मको सम्मान गर्ने कुरा संविधानमै उल्लेख भएकाले यसलाई सबैले मान्नुपर्ने र समृद्धिको अभियानमा जुट्नु पर्छ ।”
मुस्लिम युवा समाज मकवानपुरका अध्यक्ष मुस्तफा अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका नेता एवम् नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका अध्यक्ष एवम् नेपाल बुद्धिचाल संघका महासचिव धरम लामा, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मुस्लिम युवा समाजका संस्थापक अध्यक्ष महमद सलिम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । भौतिक दूरी कायम गरेर आयोजना गरिएको कार्यक्रममा मुस्लिम युवा समाज मकवानपुरका संस्थापक अध्यक्ष महमद सलिमलाई सम्मान समेत गरिएको थियो ।