उपाधि विजेता हेटौंडा–५, का खेलाडीहरुको तस्वीर ।

हेटौंडाः तेस्रो संस्करणको वडास्तरीय ८ ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि हेटौंडा–५ ले जितेको छ । हेटौंडा–९ स्थित लामसुरे खेलकुद विकास समितिको आयोजना तथा ९ नम्बर वडा कार्यालयको सहयोगमा शनिबार सम्पन्न भएको प्रतियोगिताको उपाधि हेटौंडा–५ ले जितेको हो ।

हेटौंडा–१७ लाई हेटौंडा–५ ले ३–० गोल अन्तरले पराजित गरेको छ । हेटौंडा–५ को जीतमा सुविन घिमिरेले १ गोल गरेका थिए । उत्तरकुमार दुलालले हेटौंडा–१७ बिरुद्ध २ गोल प्रहार गर्दै टिमलाई जित दिलाएका हुन् । खेलको म्यान अफ द म्याच २ गोलकर्ता दुलाल घोषित हुँदै ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिताको उपाधि जितेसँगै हेटौंडा–५ को टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता हेटौंडा–१७ को टिमले ६५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।

लामसुरे खेलकुद विकास समितिका संयोजक विष्णु राना मगरको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको थियो । समारोहमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बनियाँ, ९ नम्बर वडाका वडाध्यक्ष सुकराम केसी, विजेता हेटौंडा–५ का वडाध्यक्ष सुशील घिमिरे, हेटौंडा– ८ का वडाध्यक्ष राम थापा, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य वीरेन्द्रकुमार लामालगायतको उपस्थिति रहेको थियो ।

गत वर्ष भएको दोस्रो संस्करणको प्रतियोगिताको उपाधि हेटौंडा–४ ले जितेको थियो भने हेटौंडा–९ उपविजेता बनेको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै हेटौंडा–५ का खेलाडी सुविन घिमिरेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक राजेश तामाङ, उत्कृष्ट प्रशिक्षक सुदिश अर्याल र सर्वाधिक गोलकर्ता श्याम पौडेल घोषित हुँदै ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको सेमिफाइनल चरणको खेलमा हेटौंडा–९लाई हराउँदै हेटौंडा–५ ले फाइनलको यात्रा पूरा गरेको थियो भने हेटौंडा–७ लाई हराउँदै हेटौंडा–१७ ले फाइनलको यात्रा पूरा गरेको थियो । प्रतियोगितामा तेस्रो स्थानमा परेको हेटौंडा–९ र हेटौंडा–७ ले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।