उपाधि विजेता शारदा माविका खेलाडीहरुको तस्वीर ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा भएको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बिहीबारबाट गाउँपालिकाको वडा नम्बर–२ स्थित कुर्लेदमार रंगशालामा सुरु भएको पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

२ दिनसम्म सञ्चालन भएर सम्पन्न भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर–५ स्थित शारदा माध्यमिक विद्यालयले जितेको छ । शुक्रबार सम्पन्न भएको प्रतियोगितामा साविक विजेतासमेत रहेको शारदा माविले ८ वटा स्वर्ण, ९ वटा काँस्य र ४ वटा रजत पदक हात पार्दै उपाधि जितेको हो ।

प्रतियोगिताको उपविजेता रानीशेरा माध्यमिक विद्यालय बनेको छ । रानीशेरा माविले ६ वटा स्वर्ण, ४ वटा रजत र ३ वटा काँस्य पदक प्राप्त गरेको हो । तृतीय स्थानमा परेको भानु माध्यमिक विद्यालयले ५ वटा स्वर्ण, ७ वटा रजत र ४ वटा काँस्य पदक प्राप्त गरेको छ । भानु मावि गत वर्षको प्रतियोगिताको उपविजेता हो ।

प्रतियोगितामा मकवानपुरगढी गाउँपालिका–१ को रानीशेरा माध्यमिक विद्यालय, वडा नम्बर २ को चण्डिका माध्यमिक विद्यालय र वंशगोपाल माध्यमिक विद्यालय, वडा–३ को भानु माध्यमिक विद्यालय, वडा–४ स्थित मनकामना माध्यमिक विद्यालय, वडा नम्बर ५ स्थित शारदा माध्यमिक विद्यालय, वडा–६ को जालपादेवी माध्यमिक विद्यालय, जनक माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालय एवम् वडा नम्बर ८ स्थित रुपनारायण माध्यमिक विद्यालयका करिब ३ सय जना विद्यार्थी सहभागी भएका थिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र÷छात्रा भलिबल, एथ्लेटिक्स, हाइजम्प, लङ्गजम्प, ज्याभलिङ थ्रोलगायतका खेलहरु सञ्चालन भएको खेलकुद विकास समिति मकवानपुरगढीका अध्यक्ष हीराबहादुर स्याङ्तानले बताउनुभयो ।

पालिका खेलकुद विकास समितिका अध्यक्ष स्याङ्तानको सभाध्यक्ष तथा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन समारोह भएको हो । समापन समारोहमा गाउँपलिकाका वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको आतिथ्य रहेको थियो ।

प्रतियोगितामा कक्षा–६ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाएको उहाँले बताउनुभयो । प्रतियोगिताका प्रत्येक खेलमा प्रथम र द्वितीय हुने खेलाडी तथा टिमलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराउने उहाँले जानकारी दिनुभयो । प्रत्येक खेलमा छुट्टा–छुट्टै प्रशिक्षकको व्यवस्था मिलाएर २ दिन प्रशिक्षण दिएर प्रतियोगितामा सहभागी गराइने उहाँले बताउनुभयो ।

प्रतियोगिता आयोजना गर्नका लागि पालिकाले ३ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष प्रतियोगितामा सहभागी खेलाडीको संख्यामा कम रहेको उहाँको भनाइ छ । यस वर्ष कक्षा १० का विद्यार्थीले एसईई तयारी कक्षा र कक्षा ८ का विद्यार्थीले आधारभूत तह उत्तीर्ण परीक्षाको तयारी गरिरहेको र बजेटको अभाव भएका कारण खेलाडीको संख्या घटेको हुनसक्ने उहाँले बताउनुभयो ।

गत वर्ष पालिकाको ३ लाख ५० हजार रुपैयाँ र संघीय बजेट १ लाख विनियोजन भएकोमा यस वर्ष संघीय बजेट कटौती गरिएको उहाँले बताउनुभयो । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गरिएको छ भने सम्पूर्ण खेलहरुबाट बढी पदक जितेर उपाधि विजेता र उपविजेता बनेका विद्यालयलाई ट्रफी प्रदान गरिएको छ । पालिकास्तरीय प्रतियोगिता सहभागी भएका खेलाडीहरु जिल्ला, प्रदेश हुँदै केन्द्रीयस्तरको रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

यस वर्ष इन्द्रसरोवर गाउँपालिकामा सम्पन्न भएको प्रतियोगिताको उपाधि महाचुनी माध्यमिक विद्यालयले, थाहा नगरपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनकल्याण माध्यमिक विद्यालयले र मनहरी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मनहरी–६, सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले हात पारेको छ । मकवानपुरको अन्य पालिकाहरुले पनि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अयोजना गर्नका लागि तयारी अगाडि बढाइरहेको छ ।