हेटौंडाः भारत बाहेक तेस्रो मुलुकबाट करिब एक महिनाको समयमा मकवानपुरका ३१८ जना घर फर्किएका छन् । विश्वव्यापीरूपमा कारोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सरकारले तेस्रो मुलुकबाट नेपालीलाई स्वदेश ल्याउने क्रममा उनीहरु जिल्ला फर्किएका हुन् ।

एक महिना यता विभिन्न मुलुकबाट जिल्लाका विभिन्न स्थानका ती नागरिक फर्किएको जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जनाएको छ । जिसस मकवानपुरले जिल्ला सदरमुकाम हेटौंडामा सञ्चालन गरेको होल्डिङ सेन्टरमा हालसम्म भारत बाहेकका तेस्रो मुलुकबाट आएका ३१८ जना मकवानपुरेले सेवा लिएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । उनीहरूमध्ये हाल केहि स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् भने केहि होम क्वारेन्टिनमा बसेको साथै केहि क्वारेन्टिन अवधि सकिएर घर फर्किसकेका छन् । होल्डिङ सेन्टर सञ्चालनले विदेशबाट आउनेहरुलाई मात्र नभई सम्बन्धित स्थानीय तहलाई पनि सहज भएको छ ।

“स्थानीय तह तथा विभिन्न संघ संस्थाको सहयोग र सहकार्यमा गत जेठ २८ गतेबाट हामीले होल्डिङ सेन्टर सञ्चालन गरेका हौं”, प्रमुख खुलालले भन्नुभयो, “होल्डिङ सेन्टर सञ्चालनका सन्दर्भमा स्थानीय तहसँग के गर्ने भन्दा यसलाई निरन्तरता दिनुपर्ने सुझाव आएको छ ”। स्थानीय तह समन्वय बैठकमा स्थानीय तहका प्रमुखहरुले बाहिरबाट आउनेहरुका लागि सहजता मिलेकोले यसको निरन्तरता गर्ने सुझाव आएको उहाले बताउनुभयो । काठमाडौंबाट सदरमुकामसम्म आएपछि कहाँ जाने, के गर्ने अन्यौलता हटेको र स्थानीय तहले समेत आफ्ना नागरिकलाई लानका लागि सहजता मिलेको भन्दै अवश्यक परे थप सहयोगको प्रतिवद्धता जनाएको तर सेन्टर सञ्चालन गर्ने कुरा आएको उहाँले बताउनुभयो । तेस्रो मुलकबाट जिल्लाका नागरिक आउने क्रम जारी छ । तेस्रो मुलुकबाट फर्केलगत्तै काठमाडौंको बसुन्धरास्थित वागमती प्रदेशको होल्डिङ सेन्टर बसेका मकवानपुरेलाई सदरमुकाम हेटौंडास्थित होल्डिङ सेन्टरमा ल्याई स्थानीय तहको जिम्मा लगाइने गरिएको छ ।

“होल्डिङ सेन्टरमा सेवा लिनेहरुबाट समेत सकारात्मक प्रतिक्रिया आएको हुनाले यसलाई अझै थप व्यवस्थित रुपमा सञ्चालन गर्ने योजना बनाएका छौं”, प्रमुख खुलालले भन्नुभयो, “होल्डिङ सेन्टरमा हालसम्म प्रणामी सेवा समाज मकवानपुरले निशुल्क खाना खुवाएर सहयोग गरेको तर, उहाहरुको आफ्नै व्यस्थताले नसक्ने हुनाले अब हामी आफैं खानाको व्यवस्था समेत गर्दैछौं । होल्डिङ सेन्टरमा सरसफाई, तातो चिसो पानीको व्यवस्था, सुत्ने तथा आराम गर्ने व्यवस्था साथै मनोरञ्जनका लागि वाईफाईको समेत व्यवस्था गरेका छौं ।”

प्रमुख खुलालका अनुसार हाल तेस्रो मुलुकबाट आउने जिल्लाका नागरिकमा ३४ जना महिला २८४ जना पुरुष छन् । जसमध्ये साउदी अरबबाट ६ जना, कुवेतबाट ३६ जना, ओमानबाट ६ जना, कतारबाट ४२ जना, दुवईबाट ७६ जना मलेसियाबाट ४१ जना र अन्य मुलुकबाट ३१ जना फर्किएका हुन् । उहाँका अनुसार होम क्वारेन्टिनमा बस्न चाहनेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेबमोजिमको होम क्वारेन्टिनसम्बन्धी मापदण्ड पालना गर्ने गरी होम क्वारेन्टिन बस्ने अनुमति समेत दिएको छ भने जिल्लामा होटल क्वारेन्टिनको समेत व्यवस्था गरिएको छ । उहाका अनुसार तेस्रो मुलुकबाट आई आफैं खर्च व्यहोर्न चाहनेलाई सदरमुकाम हेटौंडाका होटल क्वारेन्टिन समेत व्यवस्थित गरिएको छ ।