हेटौडाःबागमती प्रदेश सरकारले प्रदेश सरकार गठन भएपछि हालसम्म विभिन्न जिल्लामा ३२ वटा पक्की पुलको निर्माण सम्पन्न गरेको छ । कुल ७२ करोड ४४ लाख २६ हजार रुपैयाँमा ३२ वटा पुलको निर्माण सम्पन्न गरेको प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ । आज बुधबार दिउँसो भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर पुलको उद्घाटन गरिने मन्त्रालयले जानकारी दिएको छ ।

संघीय सरकारको सशर्त अनुदानमा बनेका ३१ वटा पुल र बागमती प्रदेश सरकारको बजेटमा निर्माण सम्पन्न भएको एक पुलसहित ३२ वटा पुलहरुको आज एकैसाथ उद्घाटन हुने भएको यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निमित्त निर्देशक डा. सहदेब बहादुर भण्डारीले बताउनुभयो ।

निर्माण सम्पन्न ३२ पक्की पुल मध्ये पूर्वाधार विकास कार्यालय ललितपुरले ६ वटा पुल १२ करोड ८७ लाख ५५ हजार रुपैयाँमा निर्माण सम्पन्न गरेको छ । यस्तै पूर्वाधार विकास कार्यालय काभ्रेले ११ करोड ८८ लाख ७० हजार रुपैयाँको लागतमा ६ वटा पुल निर्माण सम्पन्न गरेको छ । पूर्वाधार विकास कार्यालय चितवनले ११ करोड ४३ लाखमा ५ वटा पुल निर्माणको कार्य सम्पन्न गरेको छ । पूर्वाधार विकास कार्यालय नुवाकोटले ९ करोड ६४ लाख ३८ हजार रुपैयाँको लागतमा ४ पुलको निर्माण कार्य सम्पन्न गरेको थियो । यसैगरी पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले कुल २० करोड ३५ लाखको लागतमा ९ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ भने पूर्वाधार विकास कार्यालय रामेछापले ६ करोड २५ लाख रुपैयाँको लागतमा २ पक्की पुल निर्माण सम्पन्न गरेको थियो ।

निर्माण सम्पन्न भएका ३२ वटा पुलमध्ये पूर्वाधार विकास कार्यालय चितवनले निर्माण गरेको मकवानपुरको २ वटा पुलको पनि आज उद्घाटन हुँदैछ । मनहरी–राक्सिराङ् जोड्ने १८ मिटर लम्बाइको आँपखोल्सी खोलामा बनेको आँपखोल्सी पुल १ करोड १० लाख ७७ हजार रुपैयाँको लागतमा गत वर्षको चैत्र ३० गते निर्माण सम्पन्न भएको थियो । यस्तै मकवानपुरकै कैलाश गाउँपालिकाको दुबोखोलामा बनेको २५ मिटर लम्बाईको दुबोखोला पुल २ करोड ५१ लख ७३ हजार रुपैयाँको लागतमा असार १८ गते निर्माण सम्पन्न भएको थियो ।

मुलुक संघीयतामा गएपछि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार गरी तीन तहको सरकारको निर्माण भएको छ । प्रदेश सरकार सुरु भएदेखि बागमती प्रदेश सरकारले संघीय सरकारको अनुदानमा कुल ३१ वटा पक्की पुल र प्रदेश सरकारकै बजेटमा एक पक्की पुलनिर्माण सम्पन्न गरेको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा. सहदेव बहादुर भण्डारीले जानकारी दिनुभयो । जसमध्ये प्रदेश सरकारले १ करोड ३६ लाख ८६ हजार रुपैयाँको लागतमा काठमाडौंको धोबीखोलामा १७.७ मिटर लम्बाईको धोबीखोला पुलको निर्माण गत चैत १० गते सम्पन्न गरेको थियो ।

यो एक पुलमात्र बागमती प्रदेशको लागानीमा सम्पन्न भएको हो भने अन्य पुल सम्पन्न गर्न संघीय सरकारले रकम पठाएको थियो । बागमती प्रदेशमा निर्माण सम्पन्न भएका ३२ पुलको लम्बाई ६.१ मिटरदेखि १२० मिटरसम्म रहेको छ । ती पुलहरु ६२ लाखदेखि ४ करोड १७ लाखसम्मको लागतमा निर्माण सम्पन्न भएका छन् ।

बागमती प्रदेशमा १२० वटा पक्की सडकपुल बन्दै

बागमती प्रदेशले निर्माण सम्पन्न गरेका ३२ सडकपुल बाहेक प्रदशेमा अन्य १२० वटा पक्की पुल निर्माण हुँदैछन् । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा. सहदेव बहादुर भण्डारीका अनुसार बहुवर्षीय योजनाकारुपमा केन्द्र सरकारको अनुदानमा ६३ वटा पक्की पुल र प्रदेश सरकारको लगानीमा ५७ वटा पक्की पुल निर्माण हुँदैछन् ।

संघीय सरकारको अनुदानमा मकवानपुरमा पूर्वाधार विकास कार्यालय चितवन मार्फत १० वटा पुल बन्दै छ ।संघीय सरकारले चालु वर्षमा मकवानपुरगढी गाउँपालिकामा ५ को ज्यामिरेखोला पुल निर्माणका लागि ५० लाख, हेटौंडाको कुखरेनी खोलामा बन्दै गरेको पुलका लागि ६२ लाख ५० हजार, आँपखोल्सी पुलको लागि १० लाख, मकवानपुरगढीको सिमलीटार पुलका लागि १ करोड ३५ लाख, कैलाशको कालीखोलामा बन्ने पुलका लागि १५ लाख, दामनको भूंग्देल खोलामा बन्ने पुलका लागि ८० लाख, नामटार–चुनिया–कालीकाटारको कालिखोला सडकपुलका लागि १ करोड, हेटौंडाको कर्राखोला पुलका लागि ५० लाख, ईन्द्रसरोवरको कुलेखानी–सिस्नेरी खोलामा बन्ने पुलका लागि १५ लाख, बागमती पुल सिक्रे दोभान पुल तालढुङ्गा काभ्रे–राईगाउँका लागि ५ करोड ९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसैगरी बागमती प्रदेश सरकारको योजना अन्तर्गत मकवानपुर जिल्लामा ६ वटा पक्की पुल निर्माण हुने भएको छ । बहुवर्षीय योजनाअनुरुप उक्त पुलहरु निर्माण हुने भएका हुन् । जसमध्ये राप्ति नदी पुल (हेटौंडा–११ र १२ जोड्ने) का लागि चालु वर्षमा ४ करोड, थाहा नगरपालिका वडा नम्बर २ र ३ जोड्ने इन्द्रायणीचौर–सतिघाट खोलामा बन्ने पक्की पुलका लागि २ करोड, देउरालीमोड–आपर्टे–भैसे–चौर–बासुकी निमावि बीचमा पर्ने डेडखोलामा पजनक पुलसहित कालोपत्रेका लागि ७५ लाख, भीमफेदी–१ को याङ¥याङ खोलामा बन्ने पक्की पुलका लागि ४० लाख, भीमफेदी–३ को गोल्पिङवेशी राप्ति आँपचौर जोड्ने पक्की पुलको निर्माण गर्न ३० लाख र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को लालझाडीमा बन्ने पुललाई १ करोड रुपैयाँ बजेट छुट्टाइएको छ ।

बागमती प्रदेश सरकारले नुवाकोट जिल्लामा ८ वटा पक्की पुल, सिन्धुलीमा ६ वटा, रामेछाप, दोलखा र रसुवामा १÷१ वटा, भक्तपुरमा ९ वटा, काभ्रेमा ४ वटा, सिन्धुपाल्चोकमा ६ वटा, धादिङमा ४, चितवनमा ९ वटा, काठमाडौंमा ७ वटा र ललितपुरमा २ वटा पुल निर्माण गर्ने भएको छ ।