Home मुख्य समाचार बागमती प्रदेश सरकार ३२ पक्की पुलको आज एकसाथ उद्घाटन गरिँदै

बागमती प्रदेश सरकार ३२ पक्की पुलको आज एकसाथ उद्घाटन गरिँदै

हेटौडाःबागमती प्रदेश सरकारले प्रदेश सरकार गठन भएपछि हालसम्म विभिन्न जिल्लामा ३२ वटा पक्की पुलको निर्माण सम्पन्न गरेको छ । कुल ७२ करोड ४४ लाख २६ हजार रुपैयाँमा ३२ वटा पुलको निर्माण सम्पन्न गरेको प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ । आज बुधबार दिउँसो भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर पुलको उद्घाटन गरिने मन्त्रालयले जानकारी दिएको छ ।

संघीय सरकारको सशर्त अनुदानमा बनेका ३१ वटा पुल र बागमती प्रदेश सरकारको बजेटमा निर्माण सम्पन्न भएको एक पुलसहित ३२ वटा पुलहरुको आज एकैसाथ उद्घाटन हुने भएको यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निमित्त निर्देशक डा. सहदेब बहादुर भण्डारीले बताउनुभयो ।

निर्माण सम्पन्न ३२ पक्की पुल मध्ये पूर्वाधार विकास कार्यालय ललितपुरले ६ वटा पुल १२ करोड ८७ लाख ५५ हजार रुपैयाँमा निर्माण सम्पन्न गरेको छ । यस्तै पूर्वाधार विकास कार्यालय काभ्रेले ११ करोड ८८ लाख ७० हजार रुपैयाँको लागतमा ६ वटा पुल निर्माण सम्पन्न गरेको छ । पूर्वाधार विकास कार्यालय चितवनले ११ करोड ४३ लाखमा ५ वटा पुल निर्माणको कार्य सम्पन्न गरेको छ । पूर्वाधार विकास कार्यालय नुवाकोटले ९ करोड ६४ लाख ३८ हजार रुपैयाँको लागतमा ४ पुलको निर्माण कार्य सम्पन्न गरेको थियो । यसैगरी पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले कुल २० करोड ३५ लाखको लागतमा ९ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ भने पूर्वाधार विकास कार्यालय रामेछापले ६ करोड २५ लाख रुपैयाँको लागतमा २ पक्की पुल निर्माण सम्पन्न गरेको थियो ।

निर्माण सम्पन्न भएका ३२ वटा पुलमध्ये पूर्वाधार विकास कार्यालय चितवनले निर्माण गरेको मकवानपुरको २ वटा पुलको पनि आज उद्घाटन हुँदैछ । मनहरी–राक्सिराङ् जोड्ने १८ मिटर लम्बाइको आँपखोल्सी खोलामा बनेको आँपखोल्सी पुल १ करोड १० लाख ७७ हजार रुपैयाँको लागतमा गत वर्षको चैत्र ३० गते निर्माण सम्पन्न भएको थियो । यस्तै मकवानपुरकै कैलाश गाउँपालिकाको दुबोखोलामा बनेको २५ मिटर लम्बाईको दुबोखोला पुल २ करोड ५१ लख ७३ हजार रुपैयाँको लागतमा असार १८ गते निर्माण सम्पन्न भएको थियो ।

मुलुक संघीयतामा गएपछि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार गरी तीन तहको सरकारको निर्माण भएको छ । प्रदेश सरकार सुरु भएदेखि बागमती प्रदेश सरकारले संघीय सरकारको अनुदानमा कुल ३१ वटा पक्की पुल र प्रदेश सरकारकै बजेटमा एक पक्की पुलनिर्माण सम्पन्न गरेको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा. सहदेव बहादुर भण्डारीले जानकारी दिनुभयो । जसमध्ये प्रदेश सरकारले १ करोड ३६ लाख ८६ हजार रुपैयाँको लागतमा काठमाडौंको धोबीखोलामा १७.७ मिटर लम्बाईको धोबीखोला पुलको निर्माण गत चैत १० गते सम्पन्न गरेको थियो ।

यो एक पुलमात्र बागमती प्रदेशको लागानीमा सम्पन्न भएको हो भने अन्य पुल सम्पन्न गर्न संघीय सरकारले रकम पठाएको थियो । बागमती प्रदेशमा निर्माण सम्पन्न भएका ३२ पुलको लम्बाई ६.१ मिटरदेखि १२० मिटरसम्म रहेको छ । ती पुलहरु ६२ लाखदेखि ४ करोड १७ लाखसम्मको लागतमा निर्माण सम्पन्न भएका छन् ।

बागमती प्रदेशमा १२० वटा पक्की सडकपुल बन्दै

बागमती प्रदेशले निर्माण सम्पन्न गरेका ३२ सडकपुल बाहेक प्रदशेमा अन्य १२० वटा पक्की पुल निर्माण हुँदैछन् । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा. सहदेव बहादुर भण्डारीका अनुसार बहुवर्षीय योजनाकारुपमा केन्द्र सरकारको अनुदानमा ६३ वटा पक्की पुल र प्रदेश सरकारको लगानीमा ५७ वटा पक्की पुल निर्माण हुँदैछन् ।

संघीय सरकारको अनुदानमा मकवानपुरमा पूर्वाधार विकास कार्यालय चितवन मार्फत १० वटा पुल बन्दै छ ।संघीय सरकारले चालु वर्षमा मकवानपुरगढी गाउँपालिकामा ५ को ज्यामिरेखोला पुल निर्माणका लागि ५० लाख, हेटौंडाको कुखरेनी खोलामा बन्दै गरेको पुलका लागि ६२ लाख ५० हजार, आँपखोल्सी पुलको लागि १० लाख, मकवानपुरगढीको सिमलीटार पुलका लागि १ करोड ३५ लाख, कैलाशको कालीखोलामा बन्ने पुलका लागि १५ लाख, दामनको भूंग्देल खोलामा बन्ने पुलका लागि ८० लाख, नामटार–चुनिया–कालीकाटारको कालिखोला सडकपुलका लागि १ करोड, हेटौंडाको कर्राखोला पुलका लागि ५० लाख, ईन्द्रसरोवरको कुलेखानी–सिस्नेरी खोलामा बन्ने पुलका लागि १५ लाख, बागमती पुल सिक्रे दोभान पुल तालढुङ्गा काभ्रे–राईगाउँका लागि ५ करोड ९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसैगरी बागमती प्रदेश सरकारको योजना अन्तर्गत मकवानपुर जिल्लामा ६ वटा पक्की पुल निर्माण हुने भएको छ । बहुवर्षीय योजनाअनुरुप उक्त पुलहरु निर्माण हुने भएका हुन् । जसमध्ये राप्ति नदी पुल (हेटौंडा–११ र १२ जोड्ने) का लागि चालु वर्षमा ४ करोड, थाहा नगरपालिका वडा नम्बर २ र ३ जोड्ने इन्द्रायणीचौर–सतिघाट खोलामा बन्ने पक्की पुलका लागि २ करोड, देउरालीमोड–आपर्टे–भैसे–चौर–बासुकी निमावि बीचमा पर्ने डेडखोलामा पजनक पुलसहित कालोपत्रेका लागि ७५ लाख, भीमफेदी–१ को याङ¥याङ खोलामा बन्ने पक्की पुलका लागि ४० लाख, भीमफेदी–३ को गोल्पिङवेशी राप्ति आँपचौर जोड्ने पक्की पुलको निर्माण गर्न ३० लाख र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को लालझाडीमा बन्ने पुललाई १ करोड रुपैयाँ बजेट छुट्टाइएको छ ।

बागमती प्रदेश सरकारले नुवाकोट जिल्लामा ८ वटा पक्की पुल, सिन्धुलीमा ६ वटा, रामेछाप, दोलखा र रसुवामा १÷१ वटा, भक्तपुरमा ९ वटा, काभ्रेमा ४ वटा, सिन्धुपाल्चोकमा ६ वटा, धादिङमा ४, चितवनमा ९ वटा, काठमाडौंमा ७ वटा र ललितपुरमा २ वटा पुल निर्माण गर्ने भएको छ ।

Exit mobile version