मिसन क्षेत्रको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिँदै ।

हेटौंडाः रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका मकवानपुरका युवाले गठन गरेको मकवानपुर कोरिया मञ्चले हेटौंडा–१३ का बालक मिसन क्षेत्रीको उपचारका लागि सहयोग गरेको छ । १४ वर्षीय मिसनको उपचारका लागि मकवानपुर कोरिया मञ्चले मंगलबार एक लाख ६० हजार २५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

वडाअध्यक्ष मनोज वाईबाको उपस्थितीमा मकवानपुरका कोरिया मञ्चका अध्यक्ष राजकुमार गोले र पूर्व अध्यक्ष दुर्गा प्रसाद दाहालले मिसन क्षेत्रीकी आमालाई हेटौंडा–१३, पदमपोखरीस्थित घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो । मिसन क्षेत्रीको टाउकोमा पिप जमेर उपचार गर्न रकम अभाव हुँदा मकवानपुरका व्यक्ति, संघ संस्थाहरुको सहयोगमा उपचार सम्भव भएको थियो । मिसन क्षेत्री अहिले उपचारपछि सामान्य अवस्थामा रहेको र नियमित स्वास्थ्य जाँच गराइरहेका छन् ।

कोरियामा रहेका हेटौंडा–१३ कै सूर्यबहादुर रुम्बा र शिशिर पाख्रिनको अगुवाईमा सहयोग रकम संकलन गरिएको मकवानपुर कोरिया मञ्चका अध्यक्ष राजकुमार गोलेले जानकारी दिनुभयो । मकवानपुर कोरिया मञ्चले यसअघि पनि विभिन्न स्थानमा सहयोग गर्दै आएको छ । मञ्चले शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने गरेको छ ।