हेटौंडाः संस्थागत विद्यालयका शिक्षक, कर्मचारीले आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री युवराज दुलाललाई ज्ञापनपत्र बुझाउँदैछन् । आज बिहान ११ बजे मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) हेटौंडा उपमहानगर समितिका अध्यक्ष सिएम रिमालले जानकारी दिनुभएको छ ।

लकडाउनका बेला तलब सुविधा नपाएको भन्दै संस्थागत विद्यालयका शिक्षक, कर्मचारी आन्दोलनरत छन् । आन्दोलनकै क्रममा भोलि बिहीबार इस्टुले जिल्ला समन्वय समिति मकवानपुर, शिक्षा विकास तथा समन्वय इकाई र हेटौंडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको इस्टु मकवानपुरका अध्यक्ष सचिन लामाले जानकारी दिनुभएको छ ।