हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरुले व्यक्तिगत घरको भाडा छुट दिने घोषणा गरेका छन् । संघका अध्यक्ष कृष्ण कटुवालले आफ्नो घरभाडामा बस्ने तथा व्यावसायिक सटरहरुमा मेडिकल बाहेकलाई एक महिनाको भाडा छुट गर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले पनि आफ्नो घरमा बस्दै आएका सबैलाई एक महिनाको भाडा छुट गर्ने बताएका छन् । संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले २० वटा पसलको भाडा एक महिनाको लागि छुट गर्ने बताउनुभएको छ भने उपाध्यक्ष गणेश भेटुवालले आफ्नो घरको ६ वटा कोठाको एक महिना बराबरको भाडा छुट गर्ने बताउनुभयो । अर्का उपाध्यक्ष रामप्रसाद न्यौपानेले पारिजातपथ स्थित घरको एक फ्ल्याटमा रहेको सहकारीलाई १ महिनाको भाडा छुट दिएको बताउनुभयो ।

मउवासंघले असार १८ गते बसेको कार्यसमितिको नियमित बैठकबाट संघ अन्तर्गतको सटरकवलमा लिँदै आएको भाडामा एक महिनाको छुट गर्ने निर्णयपश्चात संघका सदस्यहरुले पनि व्यक्तिगत घरको भाडा क्रमशः छुट दिने घोषणा गर्दै आउनुभएको छ । यसै क्रममा संघका महासचिव प्रमोदसिंह रानाभाटले २४ कोठाको दुई महिनाको भाडा छुट दिने निर्णय गरेको बताउनुभयो । कोषाध्यक्ष अनिल अग्रवालले कान्तिराजपथस्थित घरमा २० वटा सटरको एक महिनाको भाडा छुट दिने बताउनुभयो तर उहाँले लकडाउनमा बन्द नरहेका तथा आंशिक मात्र असर परेका व्यवसायलाई छुट नभएको पनि बताउनुभएको छ । सचिव सन्तोष कुमार अर्यालले पनि आफ्नो घरमा वहालमा बस्नेहरुलाई डेढ महिना बराबरको भाडा छुट दिने बताउनुभएको छ ।

कार्यसमिति सदस्य दीपक उप्रेतीको नवलपुरस्थित घरमा भाडामा रहेको सहकारीलाई एक महिनाको भाडा छुट गर्नुभएको छ । कार्यसमिति सदस्य माधव ज्ञवालीले एक महिनाको घरभाडा छुट दिएको बताउनुभयो । कार्यसमिति सदस्य रवि शर्मा कँडेलले पनि ३ वटा घरको कोठा तथा सटरलाई डेढ महिना बराबरको भाडा छुट दिएको बताउनुभयो । कार्यसमिति सदस्य कृष्णहरि बर्तौलाले पनि मनहरिमा भाडामा लगाएको पसलमा १ महिनाको छुट दिएको बताउनुभयो । कार्यसमिति सदस्य राजाराम कार्कीले आफ्नो घरको २ वटा फ्ल्याटमा १ महिनाको तथा २ वटा सटरमा २ महिनाको छुट दिने बताउनुभयो । कार्यसमिति सदस्य कृष्ण प्रसाद ढुंगानाले डेढ महिनाको भाडा छुट गरेको बताउनुभयो । उहाँले भाडामा बस्ने सबैलाई छुट नहुने तर समस्यामा परेका व्यवसाय तथा रोजगारी बन्द भई आम्दानी न्यून तथा शुन्य भएकालाई मात्र छुट दिएको बताउनुभयो ।

त्यसैगरी कार्यसमिति सदस्य नरेन्द्र भण्डारीले आफ्नो घरमा ३ महिनाकै भाडा छुट गरिदिएको बताउनुभयो । उहाँले मन्टेश्वरीलाई भाडामा दिएको घरमा छुट गरेको बताउनुभयो । त्यस्तै कार्यसमिति सदस्य श्रीकृष्ण कर्माचार्यले पनि एउटा सटरको भाडा एक महिनाको छुट गर्ने र घरमा भाडामा बस्ने अन्यलाई भने डेढ महिनाको छुट गर्ने बताउनुभयो । त्यस्तै अध्यक्ष सल्लाहकार नरोत्तम दाहालले पनि घरभाडामा डेढ महिनाको छुट गर्ने बताउनुभयो । पूर्वअध्यक्ष तथा सल्लाहकार अरुणराज सुमार्गीले पनि भाडामा लगाएको सुमार्गी कम्प्लेक्समा सरकारी कार्यालयहरु बाहेकलाई दुई महिनाको भाडा छुट गरेको बताउनुभयो । संघकै कार्यसमिति सदस्य तथा पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदीले मनहरीमा ६ वटा सटर मध्ये ३ वटामा बैंक र मेडिकल रहेकाले छुट नदिएको तर बाँकी ३ वटामा तीन महिनाकै छुट दिएको बताउनुभयो । संघको पश्चिमी क्षेत्र समितिका कोषाध्यक्ष जलालदिन मियाले मनहरीमै रिचवन प्लाजामा रहेको ८ वटा सटरको भाडा छुट गर्ने बताएका छन् । मनहरीमा अन्य घरधनीहरुले पनि घरभाडा छुट गरिरहेको सभापति सुवेदीले जानकारी गराउनुभयो ।

हेटौंडा–४, स्कुलरोड निवासी रामबहादुर श्रेष्ठले एक महिनाको र ईन्द्रायणी प्लाजामा गणेश कठायतले डेढमहिनाको भाडा छुट गर्ने बताएका छन् । पूर्व कार्यसमिति अंगद प्रसाद श्रेष्ठले पनि एक महिनाको घरभाडा छुट गरेका छन् । अन्य घरधनिहरुले पनि पसलभाडा छुट गरेको भए संघमा अभिलेख राख्ने प्रयोजनका लागि नाम टिपाउन संघका महासचिव प्रमोद सिंह रानाभाटले आग्रहसमेत गर्नुभएको छ ।