हेटौंडाः हेटौंडा अस्पतालमा मंसिर महिनामा २० वर्षभन्दा मुनिका २२ जना किशोरी आमा बनेका छन् । ३ सय २२ जना आमा बन्दा किशोरावस्थामै २२ जना आमा बनेका हुन् ।
२ सय १९ जना सामान्य, १० जटिल, ९३ शल्यक्रिया गरेर आमाले शिशुलाई जन्म दिएको हेटौंडा अस्पतालका मेडिकल रेकर्डर सफलचन्द्र कँडेलले जानकारी दिनुभयो । २० वर्षभन्दा कम उमेर विवाह गर्नु÷गराउनु नेपालको वर्तमान कानुनले दण्डनीय अपराध ठह¥याएको छ । तर, मकवानपुरमा उमेर नपुगी बालविवाह गर्ने र किशोरीहरु आमा बन्ने क्रम भने रोकिएको छैन ।
कात्तिक महिनामा २३ जना किशोरी आमा बनेका थिए । २ सय ९७ गर्भवतीले शिशुलाई जन्म दिँदा उमेर नपुगी २३ किशोरीले शिशुलाई जन्म दिएका थिए । कात्तिकमा एक सय ९७ सामान्य, ६ जटिल र ९४ गर्भवतीको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको थियो ।
चालु आर्थिक वर्षको साउन महिनामा २६ जना, भदौमा १९ जना र असोजमा १२ जना किशोरी आमा बनेका थिए । गरिबी र अशिक्षाका कारण मकवानपुरका ग्रामीण क्षेत्रमा अझै बालविवाह नरोकिएको उहाँको भनाइ छ ।
मकवानपुरको विकट राक्सिराङ, कैलाश, इन्द्रसरोवर, मकवानपुरगढी, मनहरी, बैकया, बागमती गाउँपालिकामा समेत थुप्रै बालविवाह हुने गरेको छ । हेटौंडा उपमहानगरभित्रका ग्रामीण वडामा पनि बालविवाह रोक्न सकिएको छैन ।