हेटौंडाः सर्प उद्दारका लागि हेटौंडा उपमहानगरपालिकाले सामग्री सहयोग गरेको छ । बुधबार उपमहानगरपालिका कार्यालय परिसरमा एक समारोहबीच सर्प उद्दारका लागि आवश्यक सामग्री सहयोग गरिएको हो ।
पत्रकारितामा सक्रिय रहेर सर्पको उद्दार गर्दै आउनुभएका बाबुछोरा राजेश थापा (गरिब) र रोशन थापा (दीप)लाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उद्दार सामग्री हस्तान्तरण गर्नुभएको छ । वातावरण सन्तुलनका लागि महत्पूर्ण प्राणीको रुपमा मानिने सर्पको संरक्षण र उद्दारका लागि हेटौंडा उपमहानगरपालिकाले सामग्री हस्तान्तरण गरेको सर्प उद्दारकर्ता दीपले जानकारी दिनुभयो ।
मानिसबाट सर्पलाई र सर्पबाट मानिसलाई बचाउन सर्पको उद्दार गर्दै आएको उहाँले बताउनुभयो । सर्प उद्दारको समयमा प्रयोग गरिने स्नेक क्याच, स्नेक टंक, हुक स्टीक, बुटसेट, व्याग, ग्लब्स, हेड टर्चसहित करिब ३५ हजार रुपैयाँ बराबरको सामग्री नगर प्रमुख लामाले हस्तान्तरण गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख लामाले सेवा गर्ने भावनाले सर्प उद्दारजस्तो जोखिमपूर्ण कार्य सुरक्षा बिना नै गर्दै आएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले सुरक्षित तरिकाले मानिसबाट सर्प र सर्पबाट मानिसलाई जोगाउने काम होस् भन्ने उद्देश्यले उपमहानगरले सामग्रीहरु उपलब्ध गराएको बताउनुभयो । सकारात्मक कामका लागि सहयोग गर्न उपमहानगरपालिका पछि नपर्ने नगर प्रमुख लामाको भनाइ छ ।
पत्रकारितासँगै उपमहानगर क्षेत्रका घरघरमा पुगेर निःशुल्क सेवा भावले सर्प उद्दार गरेकोमा मेयर लामाले दुबै जनालाई धन्यवाद व्यक्त गर्नुभयो । सुरक्षित तरिकाले उद्दार कार्य गर्न उहाँले आग्रह गर्नुभयो ।
मानवीय बस्ती र घरभित्र पसेका सर्प उद्दार गरेर मानव बस्तीभन्दा टाढा वन क्षेत्रमा लगरे छाड्ने गरेको उद्दारकर्ता गरिबले जानकारी दिनुभयो । सर्पको उद्दार गरेपछि विषालु र अविषालु पहिचान गरेर डिभिजन वन कार्यालयसँगको समन्वयमा मानव र सर्प दुबैलाई हानि नहुने गरी टाढा लगेर छाड्ने गरेको उहाँको भनाइ छ । सर्प उद्दारको कार्यमा सुरक्षा सामग्रीबिना नै खटिँदै आएकोमा हेटौंडा उपमहानगरपालिकाले आवश्यक सामग्री उपलब्ध गराएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।
उद्दारको क्रममा अहिलेसम्म १४ प्रजातिका सर्प फेला पारिसकेको उहाँले जानकारी दिनुभयो । विषालु किङ्गकोब्रा, स्पेक्टिकल कोब्रा (गोवन सेतीनाग), मोनोस्लेड कोब्रा (गोवन चन्द्रानाग), ग्रिनपिट भाइपर, बेण्डेड करेत फेला परेको उहाँले बताउनुभयो । यस्तै, अविषालुमा कपर हेडेट ट्रिंटेढ, कमन टिंटेढ, ट्वीन स्पोटेट, उल्फ स्नेक, फ्रोस्टेन क्याट स्नेक, चेर्कड किलब्याक, अर्नेनेट फ्ल्याक स्नेक, बफस्ट्रिप्ड किलब्याक र धामन सर्पको उद्दार गर्न सफल भएको उहाँको भनाइ छ ।
उपमहानगर परिसरमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, हेटौंडा–८ का वडा अध्यक्ष रामकृष्ण थापा, हेटौंडा–९ का वडा अध्यक्ष सुकराम केसीलगायतको उपस्थिति थियो ।