सडक खाना महोत्सवस्थल ।

हेटौंडाः होटल एसोसिएसन मकवानपुरले आयोजना गरेको ११ औँ सडक खाना महोत्सव सकिएको छ । हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरको रोडमा पुस १३ गतेबाट सुरु भएको सडक खाना महोत्सव बुधबार सकिएको हो ।

सडकमै जाउँ, सडकमै खाउँ र सडकमै रमाउँ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा ३० वटा खानाको परिकारका ५० वटा स्टल राखिएको होटल एसोसिएसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले जानकारी दिनुभएको छ । महोत्सवमा हेटौंडाको स्थानीय कलाकारका साथै सिन्धुली कला केन्द्रले पनि सांगीतिक प्रस्तुति दिएको उहाँले बताउनुभयो ।

्स्वादका पारखीलाई मौलिक खानाको स्वाद दिलाउने र होटल व्यवसायको व्यासायिक प्रवद्र्धन गर्नका लागि ४ दिनसम्म सडक खाना महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । शनिबार सुरु भएको सडक खाना महोत्सवको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँले गर्नुभएको थियो ।

महोत्सवमा ६० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको होटल एसोसिएसन मकवानपुरका महासचिव हरिगोपाल सापकोटाले बताउनुभयो । अयोजकले अनुमान गरेअनुसार नै आर्थिक कारोबार भएको महासचिव सापकोटाको भनाइ छ । महोत्सवमा दैनिक करिब २० हजार मानिसको उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा मकवानपुर जिल्लासहित चितवन र मधेश प्रदेशका विभिन्न जिल्लाका मानिसहरुको उपस्थिति थियो । गतवर्ष ३ दिन आयोजना गरिएको महोत्सव यसवर्ष ४ दिनसम्म आयोजना गरिएको हो ।