हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको जालपादेवी माध्यमिक विद्यालयमा न्यानो कपडा सहयोग गरिएको छ । मकवानपुरगढी गाउँपालिका–६ स्थित जालपादेवी माध्यमिक विद्यालयका विद्यार्थीका लागि बिहीबार न्यानो कपडा सहयोग गरिएको हो ।
विद्यालयमा कक्षा २ र ३ मा अध्ययन गर्ने करिब ४० जना विद्यार्थीलाई टिसर्ट र ट्रयाकसुट प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक राजुप्रसाद गौतमले जानकारी दिनुभएको छ । विद्यालयमा अध्ययनरत निम्न वर्गका विद्यार्थीलाई जाडोबाट बचाउन विभिन्न व्यक्तिहरुले न्यानो कपडा सहयोग गरेको उहाँले बताउनुभयो ।
हेटौंडा अस्पतालमा कार्यरत कर्मचारी श्रद्धा अधिकारी, गाउँपालिकाका समाजसेवी राजु अधिकारी, हेटौंडा–१६ हटियाका राजकुमार बन्जारा र समाजसेवी कृष्णप्रसाद पनेरुले ४३ हजार रुपैयाँ बराबरको कपडा सहयोग गर्नुभएको प्रधानाध्यापक गौतमले बताउनुभयो । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा सहयोगका लागि बन्जाराले समन्वय गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर स्याङ्तानको सभाध्यक्ष तथा समाजसेवी बन्जाराको प्रमुख आतिथ्यमा न्यानो कपडा हस्तान्तरण गरिएको हो । कार्यक्रममा शिक्षक प्रतिनिधि भवनाथ गौतमलगायत अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो ।