बकैयाः बागमती प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले शैक्षिक समस्या समाधान र गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । मकवानपुरको बकैया गाउँपालिकाले सोमबार हात्तीसुँढेमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले अभाव र समस्याका बीच हामीले राम्रो गर्न सक्नुमा नै हाम्रो सामथ्र्य देखिने बताउँदै राम्रो काम गर्ने शिक्षक, विद्यालय र विद्यार्थीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख सचिव लम्सालले समाजलाई बदल्न चाहने शिक्षकले पहिले परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि सीमित साधनका बीच शिक्षकले जवाफदेही भएर काम गर्नुपर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले विद्यालयहरुले सीमित स्रोत र साधनका बीच गुणस्तरीय शिक्षा दिनु चुनौति बनेको बताउँदै गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर काम गर्दै आएको बताउनुभयो । प्रदेशको शिक्षा विकास निर्देशनालयका महानिर्देशक खुबिराम अधिकारीले प्रदेश सरकार शैक्षिक गुणस्तर वृद्धिका लागि प्रतिबद्ध रहेको बताउनुहुँदै शिक्षक र विद्यालयको क्षमता विकासमा सहयोग गर्दै आएको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले पालिकाको शैक्षिक अवस्थाका बारेमा जानकारी गराउँदै पालिकामा शैक्षिक सुधारका शिक्षक बैंक, शिक्षकलाई तालिमलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रम बकैयाको सेतीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक गोमा रानाभाट, बाघभैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश लामा, महेन्द्र माध्यमिक विद्यालयकी प्रधानाध्यापक दीपा सिग्देल, जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदीप भोम्जनलगायतले शैक्षिक क्षेत्रमा देखिएका नीतिगत, आर्थिकलगायतका समस्याहरु र समाधानका उपायहरुका बारेमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराई, प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बराल, वन मन्त्रालयका महाशाखा प्रमुख शिव सापकोटा, मुख्यमन्त्री कार्यालयका आर्थिक प्रशासन शाखका अधिकृत श्रीराम पुडासैनी, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।