हेटौंडाः हेटौंडा उपमहानगरभित्र रहेका सामुदायिक विद्यालयलाई हेटौंडा उपमहानगरपालिका र बाल हेल्पलाइन मकवानपुरले संयुक्तरुपमा विद्यालय बालसंरक्षण नीति हस्तान्तरण गरेको छ । हेटौंडामा शुक्रबार एक कार्यक्रमबीच हेटौंडा–१, ३, १०, ११ र १९ वडाका १२ वटा विद्यालयका विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकलाई बालसंरक्षण नीति हस्तान्तरण गरिएको हो ।
हेटौंडा–१ मा रहेका कालिका आधारभूत विद्यालय, अमर माध्यमिक विद्यालय, बाराही आधारभूत विद्यालय र हेटौंडा–३, मा रहेका बालउज्ज्वल माध्यमिक विद्यालय, महेन्द्रकिरण माध्यमिक विद्यालयलाई नीति हस्तान्तरण गरिएको छ । हेटौंडा–१० मा रहेको ज्ञानदा माध्यमिक विद्यालय, हेटौंडा–११ मा रहेका आनन्दभैरव आधारभूत विद्यालय, शंकरज्योति माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयलाई पनि बाल संरक्षण नीति हस्तान्तरण गरिएको हो । यस्तै, हेटौंडा–१९ मा रहेका निर्मल माध्यमिक विद्यालय, अरनिको माध्यमिक विद्यालय र अरनिको आधारभूत विद्यालयलाई नीति हस्तान्तरण गरिएको छ ।
गत भदौ महिनादेखि विभिन्न चरणमा गरिएको अभिमुखीकरण तथा छलफलबाट नीति निर्माण गरिएको हो । १५ पृष्ठमा तयार पारिएको नीतिको विशेषतामा विद्यालयका सरोकार पक्षबाट तयार गरिएको, विद्यालय, परिवार, समाजको सबल पक्ष र सुधार गर्नुपर्ने पक्षहरूमा गहन छलफल, चिन्तन मनन् गरी नीतिमा समावेश गरिनु रहेको छ । यस्तै, बाल संरक्षण र शैक्षिक विकासमा विद्यालयबाट गरिएका वर्तमान प्रयास, व्यवस्था र सामना गरिरहेका चुनौतीहरुमा विषयगत रुपमा छलफल र समावेशलगायत ९ बुँदे विशेषता नीतिको छ ।
बाल संरक्षण नीतिका विज्ञ भरत अधिकारीले विद्यालय सबै बालबालिकाको निम्ति समान, बालबालिकाको सर्वोत्तम हित पहिलो प्राथमिकता, सुनिश्चित बालअधिकार, बालबालिका विरुद्धको अपराध शैय नहुने, भयरहीत सहभागितामूलक शिक्षा नीतिको आधारभूत सिद्धान्त रहेको जानकारी दिनुभयो । सबै बालबालिकाको निम्ति विद्यालय समान, आकर्षक र अनिवार्य र पहुँच स्थलको रुपमा विकास गर्नुका साथै गुणस्तरीय, सहभागितामूलक र बालमैत्री शिक्षण सिकाइको वातावरण तयार गर्न नीति आवश्यक रहेको उहाँले बताउनुभयो । बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक क्षमता ह्रास गर्नसक्ने व्यवहारबाट जोगाउन बाल संरक्षण नीति आवश्यक रहेको उहाँको भनाइ छ ।
विज्ञ अधिकारीले नीतिको व्यवहारिक र जीवन्त कार्यान्वयनबाट सामुदायका सबै बालबालिकाको निम्ति शान्त, भयरहीत, संरक्षित बालमैत्री र आकर्षक शैक्षिक संस्थाको रुपमा विद्यालयको रुपान्तरण गर्ने अपेक्षा लिनुभएको छ । विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनबीच आपसी मर्यादा, सद्भाव, समन्वय र अनुशासनको विकास, बाल संरक्षणको प्रत्याभूति र असल, सुसंस्कृत, योग्य तथा नैतिकवान व्यक्ति उत्पादन गर्ने उहाँको अपेक्षा छ । कतिपय विद्यालयहरुमा नीति तयार गरी लागू गरिएको भएता पनि व्यवहारिक कार्यान्वयन नभएकै कारण अपेक्षित परिवर्तन हुन नसकेकाले विद्यालयलाई बुझाइएको नीति कार्यान्वयनमा पनि चुनौती रहेको उहाँले बताउनुभयो ।
बाल हेल्पलाइन मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवालीको अध्यक्षता तथा हेटौंडा उपमहानगरापालिकाका प्रवक्ता सविन न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रवक्ता न्यौपानेले हेटौंडा उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न उक्त नीतिले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अभिभावक, विद्यार्थी, विद्यालय, शिक्षकको उपस्थितिमा तयार पारिएको उक्त नीतिले अन्य विद्यालयमा पनि बालसंरक्षण नीति तयार पार्न सहयोग पुग्ने उहाँको भनाइ छ । नीति कार्यान्वयन गर्दा परेका अप्ठ्यारो र चुनौतीलाई समयसापेक्ष परिमार्जन गर्न उपमहानगरपालिका तयार रहेको प्रवक्ता न्यौपानेले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका शाखा अधिकृत संगीता घले, हेटौंडा उपमहानगरापालिका शिक्षा विकास महाशाखाका अधिकृत हरिचन्द्र सापकोटा, रमेश बिडारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले एक महिनाभित्र उक्त नीति अनुमोदन गर्ने र अनुशिक्षण गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाएका छन् ।