म्यान अफ द म्याच भएका विशेष लामालाई पुरस्कार हस्तान्तरण गर्नु हुँदै एन्फाका केन्दीय सदस्य टिकाराम लामा ।

हेटौंडाः बागमती प्रदेश फुटबल संघको आयोजनामा हेटौंडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा चितवन र मकवानपुर विजयी भएका छन् । शुक्रबार भएको खेलमा चितवनको भरतपुर फुटबल क्लब र मकवानपुरको पदमपोखरी युथ क्लब विजयी भएका हुन् ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो खेलमा काभ्रेपलाञ्चोकको माउण्ट एभरेष्ट क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै चितवनको भरतपुर फुटबल क्लब विजयी भएको छ । यस्तै, दोस्रो खेलमा धादिङको धुनीवेशी युथ समाजलाई २–१ गोलले हराउँदै मकवानपुरको पदमपोखरी युथ क्लब विजयी भएको हो ।

भरतपुरको तर्फबाट पहिलो हाफको ५ मिनेटमा गोल गर्दै अञ्जन चौधरीले पहिलो अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ६६ औं मिनेटमा सन्दिप केसीले गोल गर्दै टिमलाई जीत दिलाएका हुन् । खेलको अन्तिम समयमा माउण्ट एभरेष्टका विशेष लामाले टिमका लागि सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सान्त्वना गोलकर्ता माउण्ट एभरेष्टका लामा घोषित हुँदै ३ हजार रुपैयाँको नगद पुरस्कार तथा ट्रफी प्राप्त गरे ।

यस्तै, पदमपोखरीको जीतमा पहिलो हाफको ३८ मिनेटमा गोल गर्दै प्रितम स्याङ्बोले अग्रता दिलाएका थिए । खेलको ३८ मिनेटमै धुनिवेशीका टिम क्याप्टेनले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याएका थिए । दोस्रो हाफको ४४ औं मिनेटमा महेश वाइबाले गोल गर्दै घरेलु टिमलाई जिताएका हुन् । समूह ‘ग’बाट जीत निकालेसँगै पदमपोखरीले ३ अंक जोडेको छ भने धुनिवेशी अंकबिहीन अवस्थामा रहेको छ ।

यो खेलसँगै काभ्रेपलाञ्चोक प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको २ खेलमा जीत निकाल्न नसकेको काभ्रेपलाञ्चोक शून्य अंकसहित प्रतियोगिताबाट बाहिरिएको हो । यसअघि बुधबार भएको उद्घाटन खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लबसँग काभ्रेपलाञ्चोक पराजित भएको थियो ।

चितवन ३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । चितवनले काठमाडौंको चित्लाङ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । पदमपोखरीले पुस १४ गते समूह चरणको दोस्रो खेलमा ललितपुरको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने १५ गते धुनिवेशीले पनि ललितपुरसँगै प्रतिस्पर्धा गर्नुपर्नेछ ।

लिगकम नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा ११ वटा जिल्लाको टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा सञ्चालन भएको प्रतियोगितामा बागमती प्रदेश खेलकुद विकास परिषद् र हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहनेछ । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले क्रमशः २ लाख र एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।