हेटौंडा ः मकवानपुरको थाहा नगरपालिकामा ५० जनाले रक्तदान गरेका छन् । ३८ जना पुरुष र १२ जना महिलाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
मंगलबार थाहा नगरपालिका–१ स्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभाको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । सहकारीले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रममा थाहा नगरपालिकाका अध्यक्ष विष्णुबहादुर विष्टको पनि उपस्थिति रहेको थियो ।
यसअघि सोमबार हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कलले आयोजना गरेको कार्यक्रममा सोमबार २४ जनाले रक्तदान गरेका थिए । निर्मल माध्यमिक विद्यालयको ४९औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम भएको हो । बिहीबार हेटौँडा–७, नागस्वतीस्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि रक्तदान कार्यक्रमको आयोजना गर्दैछ । पछिल्लो समय रगतको माग र वितरण सहज रहेको रक्तसञ्चार केन्द्र हेटौँडाले जानकारी दिएको छ ।