हेटौँडाः संघीय सरकारका पूर्वपरराष्ट्रमन्त्री कमल थापाले छिमेकी मुलुक चीनसँग भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीनको ४ दिने औपचारिक भ्रमण सकाएर विभिन्न सम्झौता गरेर फर्कँदै गर्नुहुँदा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीले चीनसँगको सम्झौता कार्यान्वयन नहुने दावी गर्नुभएको हो । बिहीबार गृहनगर हेटौँडामा आफ्नो पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ माथि वार्ता कार्यक्रममा सहभागी थापाले बीआरआईबाट मुलुकले लाभ लिनुपर्ने भए पनि कार्यान्वयन नै हुन नसक्ने जीकिर गर्नुभयो । चीनसँगको बीआरआई सम्झौताबाट मुलुकले लाभ लिनुपर्ने उहाँको भनाइ थियो ।
बीआरआई सम्झौताको विषय चिन्ता लिनुपर्ने विषय नभएको जीकिर गर्नुहुँदै अध्यक्ष थापाले भन्नुभयो, “बीआरआई सम्झौता स्वागत योग्य छ । तर यो कार्यान्वयन हुन्न । लगानीको मोडलका विषयमा काँग्रेस एमाले बीच नै मतभेद छ । अनेक अर्थ लाग्ने अस्पष्ट छ । चीन र नेपालबीच नै मतभेद छ ।” थापाले प्रधानमन्त्रीको आग्रहमा प्रधानमन्त्रीको इज्जतका लागि चीन सम्झौता मात्रै भएको उहाँको भनाइ छ । सन् १९५० को सन्धि पुनरावलोकन हुनुपर्नेमा पनि थापाले जोड दिनुभएको छ । ‘छिमेकी मुलुक भारतसँग पनि युग सुहाउँदो नयाँ सन्धि जरुरी छ । १९५० को सन्दर्भ र आजको समय उही छैन’, थापाले भन्नुभयो, थापाले भन्नुभयो, ‘भारतसँगको सम्बन्ध र निर्भरताको विकल्प र मार्ग खोजी गर्नु जरूरी छ ।’ आफैं परराष्ट्रमन्त्री भएका बेला चीनसँगको पारवाहन सन्धि सन्धिमा मात्रै सीमित भएको पनि थापाले औँल्याउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राष्ट्रिय अध्यक्ष समेत रहनुभएका थापाले भारतसँगको सन्धि, सम्झौतामा पनि पुनरावलोकन जरुरी रहेको बताउनुभयो । राजनीतिका हिसाबले भारतले नेपाललाई बेलायती दृष्टिकोण प्रेरित जवाहरलाल नेहरूको दृष्टिकोणबाटै हेर्ने जीकिर गर्नुहुँदै थापाले भन्नुभयो, ‘लामो समय नेपाल अन्तर्राष्ट्रिय समुदायमा सुरक्षा र परराष्ट्र नीति भारतबाटै निर्देशित थियो । मोदी पनि नेहरूकै पालाको दृष्टिकोणबाट नेपाललाई हेरिरहेको छ ।’ गृहनगरमा कमल थापाको कृतिमाथिको विमर्शलाई साहित्यकार निमेष निखिलले सहजीकरण गर्नुभएको थियो । ३ पटक परराष्ट्रमन्त्री बन्नु भएका थापाले आफ्नो कृति आत्मकथा नभई सत्यमा आधारित वास्तविक विवरण भएको बताउनुभयो । संविधानसभाबाट संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दी र त्यसकै सेरोफेरोमा नेपालको भूराजनीतिको तथ्यपरक विवरण प्रस्तुत भएको थापाको भनाइ छ । कुटनीति र परराष्ट्रका विद्यार्थीका लागि महत्वपूर्ण दस्तावेजको रुपमा आफ्नो पुस्तक उपयोगी र पठनीय हुने थापाको भनाइ छ ।