हेटौँडाः अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमी हेटौँडामा सारेर नियमित प्रशिक्षण सुरु गरेको छ । गत असोज दोस्रो साताको भारी वर्षापछि आएको बाढी, पहिरोका कारण ६ जना किशोर खेलाडीको मृत्युको घटनापछि एन्फाले सिस्नेरीको एकेडेमी हेटौँडा सारेको हो । हेटौँडा–११ स्थित हेटौँडा एकेडेमीमा एन्फाले एकेडेमी स्थापना गरेर नियमित प्रशिक्षण सुरु गरेको हो । किशोर खेलाडीहरुले हेटौँडा–११, सिमलटारस्थित खेलमैदानमा नियमित प्रशिक्षण गर्नेछन् ।
हेटौँडा–११, थानाभ¥याङस्थित सिमटार खेलमैदानमा एन्फा आवद्ध विद्यार्थीलाई प्रशिक्षण दिइरहेको मकवानपुर जिल्ला फुटबल संघका कोषाध्यक्ष अमृत लुङ्बाले जानकारी दिनुभएको छ । ‘बि’ क्याटागोरीको लाइसेन्स प्राप्त हेटौंडा फुटबल एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामा र सहायक प्रशिक्षक ज्ञानु मोक्तानले प्रशिक्षण दिने कोषाध्यक्ष अमृत लुङ्बाले बताउनुभयो । १४ वर्ष उमेर समूहका खेलाडीहरुलाई मंगलबारदेखि प्रशिक्षण सुरु गरेको उहाँले बताउनुभयो । प्रशिक्षणमा २८ जना खेलाडी सहभागी छन् । एन्फा एकेडेमी सञ्चालन गर्नेगरी हेटौंडा एकेडेमी र एन्फाबीच एकेडेमी सञ्चालन गर्ने सहमति भएको बताउनुहुँदै कोषाध्यक्ष लुङबाले सर्वत्र आलोचना भएपछि एन्फाले एकेडेमी सारेको बताउनुभयो ।
एकेडेमीका प्रशिक्षार्थी किशोरहरु हेटौँडाका अनुपम घलान, इन्द्रसरोवर गाउँपालिका–३ का १३ वर्षीय दिवस बानियाँ, मकवानपुरगढी गाउँपालिकाका साइमन योन्जन, धादिङ जिल्लाका प्रियन्स आचार्य तथा मधेश प्रदेशको बारा जिल्लाका विकल रेग्मी, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१७ का आदित्य बलम्पाकीको पहिरोमा परेर मृत्यु भएको थियो ।