लागूऔषध गाँजासहित पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गर्दै ।

हेटौँडाः हेटौँडा–१९, तिनताप्केबाट प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरको पिकअप गाडीलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा ७१ किलो ७०० ग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ ।

प्रहरीले गाडि चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का २० वर्षीय मिलन घलान र २६ वर्षीय दावा थिङलाई पक्राउ गरेको छ । प्रहरीले चालक बस्ने सिट मुनी लुकाएर ल्याएको अवस्थामा लागूऔषध गाँजा बरामद गरेको जनाएको छ । प्रहरीले बरामद गरेको लागूऔषध गाँजा, पिकअप गाडीसहित घलान र थिङलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसअघि आइतबार पनि मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९, भलाद्मीचोकबाट लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको थियो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ह ५०३३ नम्बरको अटोलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा १० किलो २५० ग्राम लागूऔषध गाँजा बरामद गरेको थियो । प्रहरीले अटोचालक मनहरी–८ का २८ वर्षीय राम कुमार परियार र अटोमा सवार मनहरी–९ का ३६ वर्षीय रामकुमार स्याङ्बोलाई पक्राउ गरेको थियो ।