हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) थाहा नगर समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान सर्वसम्मत चयन हुनुभएको छ । सोमबार सम्पन्न नगर समितिको तेस्रो अधिवेशनले पालुङ भ्याली हर्टका संस्थापक प्रधानको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नगर समितिको उपाध्यक्षमा सजिनभक्त श्रेष्ठ, सचिवमा संगम कार्की, कोषाध्यक्षमा रामकृष्ण जोशी चयन हुनुभएको छ । सदस्यहरुमा मनोज रायमाझी, सुदर्शन कार्की, सुशील वस्ती, रामकृष्ण बस्नेत, रामशरण थापा चयन हुनुभएको छ । यस्तै सल्हाकारमा रामकृष्ण बस्नेत र रामशरण थापालाई चयन गरिएको छ । सुरेन्द्रमान प्रधानकै अध्यक्षता तथा प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो ।

थाहा नगरपालिकामा १० वटा संस्थागत विद्यालय छन् । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । मकवानपुर जिल्लाका १० पालिकामध्ये हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा प्याव्सनको पालिकास्तरीय समिति गठन भएको छ । मंसीर महिनाभरमा बाँकी दुई वटा पालिकाको पनि अधिवेशन सकाएर पुस महिनामा जिल्ला अधिवेशनको आयोजना गरिने बताइएको छ ।