हेटौँडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । यही मंसिर १४ गते शुक्रबार हेटौँडा–१९ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको हो ।

मंगलबार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडा सम्पर्क महिला मीना देवकोटाले ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ वडालाई बालमैत्री घोषणा गर्न लागेको जानकारी दिनुभयो । सामुदायिक र संस्थागत विद्यालय तथा बाल विकास केन्द्रगरी १० वटा रहेको र समुदायस्तरमा १८ वटा बाल समूहहरु र वडा बाल सञ्जाल रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा करिब ५ सय जना बालबालिकाहरु आवद्ध रहेका छन् ।

बालमैत्री वडा घोषणा भएलगत्तै बालविवाह र बालश्रमको समस्या न्यूनीकरणमा विशेष कदम चलाउने वडाध्यक्ष नरनाथ सुवेदीले बताउनुभयो । वडा पूर्णखोप, पूर्णसाक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा भइसकेको उहाँले बताउनुभयो । मुख्यरुपमा बालविवाह र बालश्रम जस्ता समस्याहरु धेरै भएको उहाँले चिन्ता व्यक्त गर्नुभयो । हेटौंडा–१९ उपमहानगरपालिकाको १० औं वडाको रुपमा बालमैत्री घोषणा गर्न हुनेछ । यसअघि हेटौंडा–२, ४, ७, ८, ९, १०, ११, १५ र १७ नम्बर वडा निकृष्ट बालश्रम, बालविवाहमुक्त तथा बालशोषणमुक्त वडा घोषणा भइसकेको उहाँले बताउनुभयो ।