एन्फा र हेटौँडा एकेडेमीबीच भएको सम्झौता आदानप्रदान गरिँदै ।

हेटौँडाः गत असोजमा भएको घटनापछि मकवानपुरको सिस्नेरीमा रहेको एन्फा एकेडेमी हेटौंडा एकेडेमीमा स्थानान्तरण गरिने भएको छ । असोज १० देखि १२ गतेसम्मको वर्षाका कारण सिस्नेरीमा संचालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीको पहिरोमा परी मृत्यु भएको थियो । सो घटनापछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी एकेडेमीलाई हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा स्थानान्तरणको कार्य अघि बढाएको हो ।

एन्फा एकेडेमी संचालन गर्नेगरी हेटौंडा एकेडेमी र एन्फाबीच १४ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई फुटबल प्रशिक्षण दिनेगरी सञ्चालन गर्ने सहमति भएको छ । यसअघि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित सिस्नेरीमा रहेको वत्सला माविमा एन्फाको एकेडेमी सञ्चालन गरिएको थियो । उक्त एकेडेमीका ६ जना विद्यार्थी खेलाडीको मृत्युपछि एकेडेमी बन्द अवस्थामा रहेको थियो । आवश्यक पूर्वाधार बिना एकेडेमी सञ्चालन गर्दा बाल खेलाडीहरुले ज्यान गुमाउनु परेको भन्दै सर्वत्र आलोचना भएपछि एन्फाले एकेडेमी सार्ने निर्णय गरेको थियो । सोहि अनुसार हेटौंडा–११ मा रहेको हेटौंडा एकेडेमीमा आवश्यक पूर्वाधारको व्यवस्था गर्दै एकेडेमी सञ्चालन गर्न सम्झौता भएको एन्फाको केन्द्रीय सदस्य समेत रहेका मकवानपुर अध्यक्ष टीका लामाले जानकारी दिनुभएको छ ।

एन्फाका प्राविधिक निर्देशक हरि खड्काले मकवानपुरको इन्द्रसरोवर–२, सिस्नेरीमा रहेको वत्सला माविमा सञ्चालनमा रहेको एन्फा एकेडेमीलाई हेटौंडा एकेडेमीमा स्थानान्तरण गर्ने सहमति भएको जानकारी दिनुभयो । एकेडेमीका संचालक र एन्फा बीच लिखित सम्झौता समेत गरिएको उहाँले बताउनुभयो । उहाँले एन्फाका तर्फबाट सिस्नेरी एकेडेमीमा रहेकामध्ये २२ जना खेलाडीले हेटौंडा एकेडेमीमा सञ्चालन हुने एकेडेमीमा बसेर अध्ययन र प्रशिक्षण गर्ने बताउनुभयो । एन्फाका तर्फबाट सिस्नेरी एकेडेमीमा २५ जना बाल खेलाडी रहेकामा २ जनाको पहिरोमा परी ज्यान गएको थियो ।

यसैगरी एकेडेमी सञ्चालन गरिएको बत्सला माविको व्यवस्थापनमा शुल्क लिएर राखेका १५ जनामध्ये पहिरोमा परी ३ जनाको ज्यान गएको र बाँकी रहेका १२ जना विद्यार्थी हेटौँडा एकेडेमीले प्रदान गर्ने सहुलियत शुल्कमा अध्ययन गर्ने भएका छन् । एन्फाका प्राविधिक निर्देशक हरि खड्काले सोमबारसम्म एन्फाका १८ जना खेलाडी्हरु हेटौंडा एकेडेमीको होस्टेलमा आइपुगेको जानकारी दिनुभयो । बाँकी खेलाडीहरु पनि आउने क्रममा रहेको उहाँले बताउनुभयो । निर्देशक खड्काले सिस्नेरी घटनापछि एन्फा एकेडेमीमा रहेका विद्याथीहरुको फुटबल प्रशिक्षणसहित पढाईमा समेत अवरोध पुगेको हुँदा जतिसक्दा चाँडो आफुहरुले खेलाडीहरुको व्यवस्थापन गर्न चाहेको बताउनुभयो । एकेडेमीले एन्फाको शर्त अनुसारको पूर्वाधार र अन्य व्यवस्थापनमा सहमति जनाएपछि एन्फा एकेडेमीका विद्यार्थीहरुलाई हेटौँडा एकेडेमीमा राख्ने सहमती भएको जानकारी दिए ।

सिस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका विद्यार्थी खेलाडीहरुका परिवारले अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईलगायतका पदाधिकारीहरुलाई घेरेका थिए । आफ्नो असन्तुष्टि व्यक्त गर्न पुगेका मृतक विद्यार्थी खेलाडीका परिवारले महासचिव राई सहितका टोलीलाई घेरेका थिए । सोमबार महासचिव किरण राईसहित एन्फाका प्राविधिक निर्देशक हरि खड्का, मकवानपुर जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य टीका लामा लगायत हेटौंडा एकेडेमीमा एन्फा एकेडेमी सञ्चालनको सम्झौता गर्न पुगेका बखत मृतकका परिवारले उनीहरुलाई घेरेका थिए ।

गत १२ असोजमा पहिरोमा परी ज्यान गुमाएका हेटौंडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन र बाराको निजगढका विकल रेग्मीको परिवारले एन्फाका महासचिव राईसहितका पदाधिकारीहरुलाई केहिबेर घेरेर आफ्ना मागहरु पुरा गर्न दवाव दिएका थिए । उनीहरुले एकेडेमीका पदाधिकारीहरु विद्यालय भित्र एकेडेमी सञ्चालनका विषयमा छलफलमा रहँदा आफ्ना माग पुरा गर्नुपर्ने भन्दै नारावाजी समेत गरेका थिए । अभिभावकहरुको नारावाजीकाबिच जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट एकेडेमी परिसरमा प्रहरीसमेत परिचालन गरिएको थियो ।