पुस्तकालयलाई पुस्तक हस्तान्तरण गर्नुहुँदै बेलप्रसाद खतिवडा दम्पत्ति ।

हेटौँडाः हेटौँडा–८ निवासी बेलप्रसाद खतिवडाले जन्मदिनको अवसरमा हेटौँडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयलाई पुस्तक सहयोग गर्नुभएको छ । सोमबार पुस्तकालयमै पुगेर खतिवडाले ७ हजार ५ सय रुपैयाँ बराबरको ११ थान पुस्तक हस्तान्तरण गर्नुभयो ।

पुस्तकालय व्यवस्थापन गर्दै आएको साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला र सचिव तथा पुस्तकालय व्यवस्थापन समितिका संयोजक मनोज पोखरेललाई खतिवडा दम्पत्तिले पुस्तक हस्तान्तरण गर्नुभयो । आफ्नो जन्मदिनमा समुदायले पनि लाभ लिन सक्ने पुस्तकालयलाई पुस्तक सहयोग गर्न पाएकोमा खतिवडाले खुसी व्यक्त गर्नुभयो । साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले नयाँ पुस्तक प्राप्त हुँदा पुस्तकालयका पाठकले लाभ लिन सक्ने बताउनुहुँदै सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

हेटौँडा उपमहानगरपालिकाले स्थापना गरेको पुष्पलाल स्मृति पुस्तकालय साहित्य संगम मकवानपुरको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ । पुष्पलाल स्मृति पुस्तकालय दैनिक बिहान १० बजेदेखि साँझ साढे ५ बजेसम्म खुल्ने गरेको छ । दैनिक समाचारपत्र, आवधिक पत्रिकासहित विभिन्न शीर्षकका पुस्तक रहेको पुष्पलाल स्मृति पुस्तकालयमा २ सय भन्दा बढी सदस्य छन् ।

खतिवडाले हालै सार्वजनिक भएका पुस्तकहरु सुधीर शर्माको ‘हिमालपारिको हुरी’, भिक्षु, ‘व्यापार र विद्रोह’, भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र’, गोविन्द कुशुमको ‘भृकुटी’, भानु बोखिमको ‘गोधुली गीत’, शैलेन्द्र अधिकारीको ‘अर्हत्’, सागर गैरेको ‘मोहर’, रमेश भुषालको ‘छालबाटो’, रमेश सायनको ‘अन्तर’, डा. श्रीधर खनालको ‘शावर्णी’, घनश्याम खड्काको ‘निर्वाण’ पुस्तकालयलाई हस्तान्तरण गर्नुभएको हो ।