हेटौंडाः पछिल्लो समयमा कतिपय समाचार सामग्रीमा समस्या देखिएको भन्दै भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरिएको छ । संघीय सरकारको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले बुधबार हेटौँडामा आयोजना गरेको महिला पत्रकारिता क्षेत्रको विकासको निम्ति सरोकारवालाहरुको क्षमता अभिवृद्धि तथा अन्तरक्रियामा पत्रकारहरुलाई यस्तो आग्रह गरिएको हो । प्रेस काउन्सिल नेपाल, प्रेस स्वतन्त्रता अनुगमन शाखाकी प्रमुख सञ्चिता घिमिरेले सुचनाको गलत प्रयोग गर्दै भ्रामक सामग्री प्रसारण भइरहेको जानकारी दिनुभयो ।

जसले मिडियाप्रतिको विश्वास कम भइरहेको, नागरिकमा अन्योलता सिर्जना र सार्वजनिक सुरक्षामा चुनौति हुनसक्ने छ । यस्तै राजनीतिक, सामाजिक विवाद र समाजमा द्वन्द्वको अवस्था सिर्जना हुनसक्ने, जातीय, धार्मिक, साँस्कृतिक सद्भावमा गम्भीर असर पुग्न सक्ने छ । राज्य र राज्यका संरचनाप्रति नागरिकको विश्वास कम हुने, घृणास्पद अभिव्यक्तिले सहिष्णुता र सद्भावमा खलल जस्ता असर समाजमा पु¥याउने भएकाले भ्रामक समाचार सम्प्रेषण तथा प्रसारण नगर्न आग्रह गर्नुभयो ।

यसैगरी मिडियालाई लैंगिकरुपमा समावेशी बनाउन, आधा जनसंख्याको आवाज सुन्न सुनाउन, दर्शकको विविधताको प्रतिबिम्बित गर्न मिडिमा महिला पत्रकार जरुरी रहेको औंल्याउनुभयो । समाजमा पछाडि पारिएका वर्गको आवाज मिडियामा ल्याउन, समाचारका विषयवस्तुमा विविधता पस्कन, फरक दृष्टिकोण र फरक अनुभवका लागि अवसरसँगै समाजका अरु महिलाका लागि प्रेरणा बन्न महिला पत्रकार मिडियामा आवश्यक रहेको उहाँको धारणा छ । पछिल्लो समय पत्रकारहरुले आचारसंहिता पालना नगर्ने र सुरक्षाप्रति संवेदनशील नबन्दा पत्रकारमाथि आक्रमणका घटना बढेको उहाँले बताउनुभयो ।

पत्रकार महासंघको तथ्यांकअनुसार १३ हजार ७७ जना पत्रकार छन् । जसमा १० हजार ६ सय ६९ पुरुष र २ हजार ४ सय ८ जना महिला छन् । पत्रकार अञ्जली थापाले कार्यक्रमलाई सहजीकरण गर्नुहुँदै श्रोत र साधनको कमि, सामाजिक भेदभाव र जिम्मेवारी, प्राविधिक ज्ञान, न्यून आय, अवसरको कमिले गर्दा महिला पत्रकारको संख्या कम रहेको बताउनुभयो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयकी उपसचिव तथा सुचना अधिकारी महन्थ बास्तोलाले संवैधानिक व्यवस्था कार्यान्वयन कमजोर रहेको जानकारी दिनुहुँदै तीन तहका सरकारबीच समझदारी कायम गरी ऐन, नियम कार्यान्वयन गर्ने गराउन चुनौति रहेको बताउनुभयो ।

सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्ने, साइबर अपराधलाई न्यूनीकरण गर्ने चुनौति छन् । सञ्चार माध्यमको अनुगमन गरी वस्तुपरक समाचार सम्प्रेषणमा सहजीकरण गर्न असल पत्रकारिता अभ्यासबाट समाजलाई सकारात्क दिशातर्फ डोर्याउन लगायत चुनौति रहेको जानकारी दिनुभयो । नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका प्रशासन महाशाखाका प्रवक्त गजेन्द्र ठाकुरको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तीर्थराज चिलुवालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । प्रमुख जिल्ला अधिकारी चिलुवालले अन्तरक्रियाले नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने विश्वास लिनुभयो ।