हेटौंडाः बारा प्रहरीले विभन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराको मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका ८ जना प्रतिवादीहरुलाई मंगलबार पक्राउ गरेको हो ।
बारा जिल्ला अदालतले विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सुनाएर फरार रहेका उनीहरुको खोजी गर्ने क्रममा लुकेर बसेको अवस्थामा पक्राउ गरेर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लागूऔषध मुद्दाका ३ जना, चेक अनादर मुद्दाका २ जना, सवारी दुर्घटना मुद्दाका १ जना, डाँडा मुद्दाका १ जना र कुटपिट अंगभंग मुद्दामा फरार रहेका १ जना रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
जिल्ला अदालत बाराले लागूऔषधको मुद्दामा फरार रहेका निजगढ नगरपालिका–८ का नानसाइली भन्ने माया गोलेलाई ५ महिना २८ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना, निजगढ नगरपालिका–८ का बालकृष्ण थापालाई ५ महिना २८ दिन कैद र २ हजार रुपैयाँ जरिवाना हुनेगरी फैसला गरेको थियो भने लागूऔषधकै मुद्दामा फरार रहेकी इन्दिरा थापालाई २० दिन कैद र २ हजार रुपैयाँ जरिवाना हुनेगरी बारा जिल्ला अदालतले सजाय सुनाएको थियो ।
चेक अनादरको मुद्दामा फरार रहेका खडकराज मैनालीलाई १ महिना कैद र ५ सय रुपैयाँ जरिवाना, सवारी दुर्घटना मुद्दामा फरार सागर राईलाई १ बर्ष कैद १ हजार रुपैयाँको जरिवान, डाँका मुद्दामा फरार बिश्रामपुर गाउँपालिका–२ बरैनियाका अर्जुन राय यादवलाई १ बर्ष कैद १० हजार ५ सय रुपैयाँ जरिवाना सजाय, कुटपिटको मुद्दामा फरार परवानिपुर गाउँपालिका–३ का जयप्रकाश यादवलाई २ हजार रुपैयाँ र चेक अनादरको मुद्दामा फरार कलैया उपमहानगरपालिका–४ का शिवमंगल रामलाई ५ सय रुपैयाँ जरिवाना हुनेगरी अदालतले सजाय तोकिएको छ ।