हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को एक वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी कायम भएको छ । यही मंसीर १६ गते हुने निर्वाचनका लागि दल तर्फबाट ९ र स्वतन्त्रबाट ३ जनाको उम्मेदवारी कायम भएको हो ।
मंसिर २ गते मनोनयन दर्ता गर्ने क्रममा १४ जनाको उम्मेदवारी परेको थियो । दल तर्फबाट ९ र स्वतन्त्रबाट परेको ५ जनाको उम्मेदवारी मध्ये २ जनाले मनोनयन फिर्ता गरेका हुन् । स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका कुमार पोखरेल र युनिश लामा सिन्तानले मनोनयन फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बिहान ९ बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत कमल सञ्जेलका अनुसार निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली समेत प्रकाशन भइसेकको छ ।
निर्वाचनमा लागि कायम रहेका १२ जना उम्मेदवारहरुलाई बुधबार नै निर्वाचन चिन्ह प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिर १६ मा हुने उपनिर्वाचनका लागि एमालेले राजेश नगरकोटीलाई सूर्य, कांग्रेसका तर्फबाट अर्जुनप्रसाद तिवारीलाई रुख, माओवादी केन्द्रका रविन कुमार प्रधानलाई गोलाकारभित्र हँसिया हथौडा, रास्वपाका आशा वीर बललाई घण्टी, राप्रपाका प्रेम बहादुर भोलनलाई हलो, जसपाका छविलाल वाईबालाई ढल्केको छाता, मंगोल नेशनल अर्गनाइजेशनका दीपा लामालाई कुखुराको भाले, नेमकिपाका फुलमाया तितुङलाई मादल र नेकपा एकीकृत समाजवादीबाट बलराम बललाई कलम चुनाव चिन्ह प्रदान गरिएको छ । स्वतन्त्र उम्मेदवारी दिने अर्जुन घलानलाई लसुन, गीताकुमारी नेवारलाई चापाकल र छत्र प्रकाश अधिकारीलाई हात मिलाएको चुनाव चिन्ह प्रदान गरेको छ ।
हेटौंडा–१२ मा कुल ८ हजार ५३ मतदाता रहेका छन् । उक्त निर्वाचनका लागि २ मतदानस्थलमा ९ वटा केन्द्रहरु निर्धारण गरिएको छ । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौंडा–१२ को वडा अध्यक्ष पद रिक्त रहेको थियो । कार्यवाहक वडाअध्यक्ष ज्ञानबहादुर श्रेष्ठ हुनुहुन्छ ।