फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी दोस्रो संस्करणको चैनपूर जेसीज खुल्ला फुटबल प्रतियोगितामा जनसिद्ध युवा क्लब विजयी भएको छ । चैनपुर जेसीज मनहरीको आयोजनामा मनहरी–४, मसिनेस्थित गोलघर खेल मैदानमा शनिबार भएको खेलमा हाँडीखोला युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै जनसिद्ध युवा क्लब विजयी भएको हो ।

निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि नतीजाका लागि टाइब्रेकरको साहारा लिनुपरेको थियो । जनसिद्धको तर्फबाट मिसन लामाले खेलको १५ औं मिनेटमा एक गोल गरेका थिए भने हाँडीखोलाका सुजन राईले १८ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दुबै टिमका ५–५ जना खेलाडीहरुले बल प्रहार गर्दा जनसिद्धका युवाका ४ खेलाडीको प्रहार गोलमा परिणत भएको थियो भने १ जनाको प्रहार गोलमा परिणत भएको थिएन । यस्तै हाँडीखोलाका ५ जना खेलाडीहरुले बल प्रहार गर्दा ३ जनाको प्रहार मात्र गोलमा परिणत हुन पुगेको थियो ।

गाउँपालिका ४ नम्बर वडाको मुख्य सहयोगमा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेलमा सक्षम युवा क्लब र एफसी ढिडोबीच प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा एफसी परेली र टिएनटी मनहरीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल मंसीर ३ गते हुनेछ । गत वर्ष भएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि प्रदेश प्रहरी गणको टिमले उपाधि जितेको थियो ।