हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडा–१६, हटियास्थित जनप्रिय माविको अनुगमन गर्नुभएको छ । मेयर महतले बुधबार विद्यालयको अनुगमन गर्नुहुँदै विद्यालयले निर्माण गरेको सामाजिक संग्रहालय, गणित र अंग्रेजी विषयको प्रयोगशालाको उद्घाटन एवम् निरीक्षण गर्नुभएको छ ।
विद्यालयका प्रधानाध्यापक नमराज अर्याल, अंग्रेजी विषय शिक्षक कैलाश धिताल, गणित विषयका शिक्षक मानबहादुर घलान, सामाजिक विषयका शिक्षक रविन श्रेष्ठले प्रयोगशाला तथा संग्रहालयका बारेमा मेयर महतलाई जानकारी गराउनुभएको थियो । जनप्रिय माविका शिक्षकले विद्यार्थी र अभिभावकको समेत सहयोगमा लकडाउनकै अवधिमा अंग्रेजी र गणित विषयको प्रयोगशाला र सामाजिक विषयको संग्रहालय निर्माण गरेको हो ।
प्रयोगशाला तथा संग्रहालयको निरीक्षण गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रयोगशाला तथा संग्रहालयका लागि आवश्यक फर्निचर निर्माणमा सहयोग गर्ने बताउनुभएको छ । विद्यार्थीलाई प्रभावकारी शिक्षा दिलाउन शिक्षकहरुले मिहिनेत गर्नुपर्ने बताउनुहुँदै जनप्रियका शिक्षकहरुको मिहिनेत सराहनीय भएको उल्लेख गर्नुहुँदै स्थानीय सरकारको रुपमा नागरिकको सेवा, सुविधाका लागि आवश्यक काम गर्न उपमहानगर तयार रहेको मेयर महतले बताउनुभयो ।
जनप्रिय माविका प्रधानाध्यापक नमराज अर्यालले विद्यार्थीलाई प्रभावकारी सिकाई र सहज अभ्यासका लागि प्रयोगशाला र संग्रहालय निर्माण गरिएको जानकारी दिनुभयो । अंग्रेजी विषयका शिक्षक कैलाश धितालले विद्यार्थी र अभिभावककै सहभागितामा तयार पारिएको प्रयोगशाला र संग्रहालय विद्यार्थीलाई लागि उपयोगी हुनुका साथै शिक्षकले पनि सहजै विद्यार्थीलाई बुझाउन सक्ने अवस्था भएको बताउनुुभयो ।