हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, हटियास्थित स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बुधबार एक कार्यक्रमका बिच स्वास्थ्य चौकीको भवन उद्घाटन गर्नुभएको हो ।
उपमहानगरपालिकाको ४८ लाख ७५ हजार रुपैयाँ, उपभोक्ता समूहको तर्फबाट ५ लाख ९९ हजार रुपैयाँ र ६ लाख २२ हजार रुपैयाँ बराबरको श्रमदानसहित कुल ६२ लाख २१ हजार रुपैयाँ लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । २ तल्ले भवनको एउटा तल्लामा ६ वटा कोठा निर्माण गरिएको छ । बैशाख ८ गतेदेखि निर्माण सुरु गरेर करिब ३ महिनाको अवधिमा उपभोक्ता समिति मार्फत स्वास्थ्य चौकी भवनको पहिलो तल्ला तयार भइसकेको छ भने दोस्रो तल्लाको निर्माण कार्य पूरा हुन बाँकि नै छ । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ चौलागाईको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादु महतको प्रमुख आतिथ्यमा स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रम भएको हो । मेयर महतले स्वास्थ्य चौकीका प्रमुखलाई साँचो हस्तान्तरण गरेर भवनको उद्घाटन गर्नुभएको हो ।
स्वास्थ्यचौकी भवनको उद्घाटन गर्नुहुँदै मेयर महतले स्वास्थ्यलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । स्वास्थ्यचौकी भवन बनेसँगै नगरवासीको स्वास्थ्य सेवाका लागि उपमहानगरले थप सेवा, सुविधाको पनि व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । उपमहानगरपालिकाले १९ वटै वडामा स्वास्थ्य चौकी सञ्चालनमा ल्याएको र स्वास्थ्य चौकीलाई व्यवस्थित गर्न भवन निर्माणको कार्य गरिरहेको मेयर महतले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण कोइरालाले समुदायको सक्रियतामा छोटो अवधिमै महत्वपूर्ण काम भएको बताउनुभयो ।
स्वास्थ्यचौकी भवनको उद्घाटन कार्यक्रममा वडा सदस्यहरु, स्वास्थ्यकर्मी, स्थानीयको उपस्थिति रहेको थियो । यसैबीच मेयर महतले हेटौंडा–१८, हर्नामाडीमा निर्माणाधिन स्वास्थ्यचौकी भवनको पनि अवलोकन गर्नुभएको छ । वडा नम्बर १६ को जस्तै अवधारणामा १८ नम्बर वडामा पनि स्वास्थ्य चौकी भवन निर्माण भइरहेको छ ।