हेटौंडाः मनहरी गाउँपालिकाको वडा नम्बर ७ र ९ को कार्यालय भवन सिलान्यास गरिएको छ । बुधबार बिहान मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले भवनको सिलान्यास गर्नुभएको हो । वडा कार्यालयको आफ्नै भवन नहुँदा भाडाको घरमा कार्यालय सञ्चालन गरिरहेको छ । कार्यालयका लागि उपयुक्त भवनको अभावमा सेवाग्राहीलाई प्रभावकारी सेवा समेत प्रदान गर्न समस्या भइरहेका बेला गाउँपालिकाले वडा कार्यालय निर्माणको कार्यलाई प्राथमिकता दिँदै आएको छ । आगामी आर्थिक वर्षभित्र वडाका ९ वटै वडा कार्यालय व्यवस्थित भवनमा स्थापित हुने गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ ।
मनहरी गाउँपालिकाको ९ नम्बर वडा कार्यालयको भवन निर्माण गर्नका लागि स्थानीय पशुपति कालाखेतीले आफ्ना बुबा डोलनाथ कालाखेतीको स्मृतिमा ३२ धुर जग्गा दान गर्नुभएको छ । सोही जमिनमा गाउँपालिकाले भवन निर्माण गर्न लागेको वडा अध्यक्ष साधुराम अधिकारीले जानकारी दिनुभएको छ । मकवानपुरको मनहरी गाउँपालिकाले ६ वटा वडा कार्यालयको भवन निर्माण कार्य सुरु गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ भित्र सक्ने गरी पालिकाकै रकमबाट ६ वटा वडा कार्यालय र ६ वटा स्वास्थ्य इकाईको भवन निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष उप्रेतीले जानकारी दिनुभएको छ ।
गाउँपालिकाले वडा नम्बर १, २, ५, ६, ७ र ९ नम्बर वडाको भवन निर्माण गर्दैछ । अढाई तल्लाको संरचना ८५ देखि ९० लाखको दरले निर्माण गर्न निर्माण कम्पनिसँग सम्झौता भएको छ । मनहरी गाउँपालिकाको १ नम्बर वडा कार्यालय विक्रमपर्तामा, २ नम्बर वडा कार्यालय भुन्द्रुङटाँडीमा, ५ नम्बर वडा कार्यालय बसन्तपुरमा, ६ नम्बर वडा कार्यालय सुनाचुरीमा, ७ नम्बर वडा कार्यालय बिजौनामा र ९ नम्बर वडा कार्यालय ज्यामिरेमा बनाउन लागेको छ । वडा नम्बर ३ र वडा नम्बर ८ को कार्यालय भने साविकको हाँडीखोला र मनहरी गाउँपालिकाको भवन भएकोले सोही भवनबाट वडा कार्यालय सञ्चालन गर्न सहज भएकोले नयाँ नबनाइने गाउँपालिका अध्यक्ष उप्रेतीले स्पष्ट पार्नुभएको छ ।
गाउँपालिकाको ९ वटा वडा मध्ये वडा नम्बर ४ मा भने जग्गाको व्यवस्थापन हुन बाँकी भएकोले भवन निर्माणको प्रक्रिया सुरु हुन सकेको छैन । ६ वटा वडा कार्यालय भवन मध्ये एउटा भवनका लागि जिल्ला समन्वय समितिको आर्थिक सहयोग रहेको छ । यस्तै गाउँपालिकाले वडा नम्बर १, २, ४, ५, ८ र ९ नम्बर वडामा स्वास्थ्य चौकी भवन निर्माणका लागि टेण्डरको प्रक्रियामा रहेको छ । गाउँपालिकाको वडा नम्बर ३ मा स्वास्थ्य चौकी र वडा नम्बर ७ मा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । आगामी आर्थिक २०७७/७८ मा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ सैय्याको अस्पतालमा विकास गरिने पनि गाउँपालिका अध्यक्ष उप्रेतीले स्पष्ट पार्नुभएको छ ।