साइकल र्याली सुरु गर्दै ।

हेटौँडाः विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लबले बिहिबार बिहान हेटौँडामा साइकल र्यालीको आयोजना गरेको छ । हेटौँडामा क्रियाशील रोटरी क्लब अफ हेटौँडा र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा बिहिबार बिहान हेटौँडा बजारको उद्योग वाणिज्य संघ चोकबाट सुरु भएको साइकल र्याली मेनरोड, बुद्धपथ, हरियाली टोल, भैरवरोड, सानोपोखरा, मनकामनाचोक, नगरपालिकारोड, मानसचोक, काँग्रेसचोक, पल्पसारोड हुँदै पुनः मकवानपुर उद्योग वाणिज्य संघ चोकमा पुगेर समापन गरिएको थियो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईको प्रमुख आतिथ्य तथा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारको आतिथ्यमा र्यालीको उद्घाटन कार्यक्रम भएको थियो । नेपालमा पोलियो उन्मुलन भएको घोषणा गरिए पनि पुनः पोलियोका जिवाणु देखिएकोले पोलियोसम्बन्धी सचेतना अभिवृद्धि गर्न र बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन सचेतना अभिवृद्धिको कार्यमा रोटरीले सहयोग गरेको जनाएको छ ।

साइकल र्यालीमा मकवानपुर जिल्ला साइक्लिङ संघसँगै क्रियाशील साइक्लिङ क्लबहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर तथा रोटरी क्लब अफ हेटौँडाका पूर्वअध्यक्ष रामप्रसाद शर्मा, रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रकाश ढकाल, रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालसहित रोटरी क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

साइकल र्यालीमा सहभागीहरु ।