![teacher's-exam](https://samriddhasamaj.com/wp-content/uploads/2023/11/teachers-exam-696x488.jpg)
हेटौँडाः शिक्षक सेवा आयोगले आगामी शनिबार माध्यमिक तहको शिक्षण अनुमतिपत्रका लागि परीक्षा लिँदैछ । आयोगले बागमती प्रदेशमा मकवानपुर र ललितपुर जिल्लामा परीक्षा लिँदैछ । मकवानपुर जिल्लाको हेटौँडामा हुने परीक्षामा सहभागी हुने परीक्षार्थीको संख्या ५ हजार रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।
ललितपुरमा ५ हजार १ सय २५ जना परीक्षार्थी रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले हेटौँडाका विभिन्न ९ वटा शैक्षिक संस्थामा परीक्षा सञ्चालन गर्दैछ । शिक्षण अनुमतिपत्रको परीक्षामा १ घण्टाको वस्तुगत प्रश्न सोधिने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरकी अधिकृत उन्नति ढकालले जानकारी दिनुभयो । शनिबार दिउँसो १ बजेदेखि हुने परीक्षाको नतीजा एक महिनाभित्र आयोगले प्रकाशन गर्नेछ । शिक्षण अनुमतिपत्र प्राप्त गरेका उम्मेदवारले मात्रै आयोगले लिने सम्बन्धित तहको परीक्षामा सहभागी हुन पाउनेछन् ।
परीक्षामा केही संख्यामा अपाङ्गता भएका परीक्षार्थी पनि रहने बताइएको छ । अपाङ्गता भएका परीक्षार्थीले सहयोगी राखेर परीक्षा दिने व्यवस्था आयोगले मिलाएको छ ।