
हेटौँडाः बागमती प्रदेशका मुख्मयन्त्री बहादुर सिंह लामाले बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउने बताउनुभएको छ । उहाँले आयोजना बैंक स्थापना र प्रभावकारी कार्यान्वयन गरेर बजेट विनियोजनको तयारी भइरहेको जानकारी दिनुभयो ।
बुधबार मुख्यमन्त्री लामाले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालसँग कार्यसम्पादन करार सम्झौता गर्दै आयोजना बैंक स्थापना तथा संचालनलाई प्रभावकारी बनाउन निर्देशन समेत दिनुभएको छ । उहाँले प्रदेश सरकारलाई नागरिकसम्म जोड्ने र फलदायी योजनाहरु छनौट तथा कार्यक्रम कार्यान्वयनमा सघाउन आयोगले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री लामाले वार्षिक स्वीकृत कार्यक्रमका अलावा प्रदेश सरकारलाई आवश्यक तथ्यांक संकलन तथा सुझावहरु उपलब्ध गराएर नीति आयोगले प्रदेशको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नयाँ र फरक ढंगका उत्पादन र रोजगारीमा केन्द्रीत हुने गरी आयोगले योजना निर्माण तथा बजेट विनियोजनमा सघाउन उहाँले आग्रह गर्नुभएको छ ।
“नीति आयोगले मुख्यतः आयोजना बैंकको भूमिकालाई प्रभावकारी कार्यान्वयन जोड दिनुपर्छ । योजना छनौट र बजेट विनियोजन पराम्परागत र हचुवा नभई विधि र पद्दतीबाट अघि बढाउनुपर्छ । सरकार सिस्टम बनाउन सक्रिय छ । प्रदेश सरकारले तयार पारेको सिस्टम अनुसार नीति आयोगले नियमित काम गर्ने र नयाँ ढंगका प्रभावकारी योजना निर्माणमा अग्रसर हुनेछ”, उहाँले भन्नुभयो ।