विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौंडाः जेसीआई हेटौँडाले हेटौंडा–१५, चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बुधबार जेसीआई हेटौँडा वर्ष २०२४ का अध्यक्षसहितको टोली विद्यालय पुगेर शैक्षिक सामग्री सहयोग गरेको हो । जेसीज सप्ताह २०२४ अन्तर्गत विद्यार्थीलाई आवश्यक कापी, कलम, किताब, खेलकुदको सामाग्रीहरुको सहयोग जेसीआई हेटौंडाका कार्यकारी उपाध्यक्ष तथा सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक विवेक आनन्द न्यौपानेले जानकारी दिनुभएको छ ।

८ कक्षासम्म पठनपाठन हुने विद्यालयका ५० जना विद्यार्थीलाई करिब ६० हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको संयोजक विवेक आनन्द न्यौपानेले जानकारी दिनुभयो । जेसीआई हेटौंडाले सन् २०१५ देखि विश्वज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्रीहरु सहयोग गर्दै आएको उहाँले बताउनुभयो । जेसीआईले विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर १ वर्षका लागि पुग्नेगरी शैक्षिक सामग्री प्रदान गर्ने गरेको जनाएको छ । जेसीआई हेटौंडाका अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री वितरण कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा–८ का वडाध्यक्ष रामकृष्ण थापा र ९ का वडाध्यक्ष सुकराम केसी, जेसीआई हेटौँडाका पूर्वअध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

जेसीआई हेटौँडाले सन् २०१९ मा विद्यालयमा शिक्षाको व्यवस्था गरिएको र सन् २०२० मा विद्यालयमा विद्यालयका लागि पानीको व्यवस्था गरिएको उहाँले बताउनुभयो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहिबार बिहान हेटौंडा–४, हुप्रचौरमा रक्तदान कार्यक्रम, स्लो मोटरसाइकल प्रतियोगिता र साँझ ४ बजे हेटौँडा–९, लामसुरेस्थित सियान पुनःस्थापना केन्द्रमा महिलाहरुका लागि लागूऔषध सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरिने उहाँले बताउनुभयो । यस्तै शुक्रबार जेसीज सप्ताहको समापन कार्यक्रम तथा पुरस्कार वितरण समारोह हुनेछ ।