प्रहरीले पक्राउ परेपछि सार्वजनिक गरेका सानु (बायाँ) र तोइसाङ (दायाँ) ।

हेटौँडाः ज्यान मार्ने उद्योग मुद्दामा नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य सानु कुमार लामालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ ९ गते हेटौँडा–९ स्थित नेपाल पास्ता फुड प्रालिका सञ्चालक कृष्ण प्रसाई र चित्र प्रसाईलाई कुटपिट गरेर फरार रहेका लामा र अर्का एकजनालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको जनाएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष समेत रहेका सानु कुमार लामा नेकपा एमाले मकवानपुरको युवा ईन्चार्ज समेत हुन् । हेटौँडा–१० का सानुसहित प्रहरीले हेटौँडा–८ का तोइसाङ लामालाई पक्राउ गरेको जानकारी दिएको छ । सानुलाई हेटौँडा–४ बाट र तोईसाङलाई हेटौँडा–८ बाट मंगलबार राती ९ बजेर ५० मिनेटको समयमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले दुबैजनालाई पक्राउ गरी हिसारतमा राखेको छ । ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई ५ दिनको म्याद अनुमति दिएको छ ।