हेटौंडाः बागमती प्रदेशको खेलकुद विकास कार्यक्रम विज्ञमा दीपक थापा नियुक्त हुनुभएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष थापालाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञमा नियुक्त गर्नुभएको हो ।

खेलकुद क्षेत्रमा उपलब्धि मुलक काम गर्ने उद्देश्य अनुरुप ठोस तथा प्रभावकारी योजना निर्माणका लागि युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुद कार्यक्रम विज्ञ थापालाई नियुक्ति पत्र प्रदान गर्नुभएको हो। थापाको नियुक्तिले प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग हुने मन्त्री महर्जनले बताउनुभयो । थापाले खेलकुदसंग सम्बन्धित विकास कार्यक्रमहरुको योजना र खेलाडीहरुको वृद्धि विकासलाई समेत सुनिश्चित गर्न प्रदेश सरकार र खेलकुद मन्त्रालयलमा आवश्यकता अनुसार सल्लाह सुझाव दिने र कार्य गर्ने मन्त्री महर्जनले बताउनुभयो ।

काठमाडौँ महानगरपालिका–१० निवासी थापा काठमाडौँ व्याडमिन्टन एकेडेमीका संस्थापक हुनुहुन्छ । व्याडमिन्टनमार्फत् विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्दै ब्राजिलमा भएको रियो ओलम्पिक २०१६ मा समेत नेपालको प्रतिनिधित्व गरिसकेका थापाको अनुभवले बागमती प्रदेशको खेल क्षेत्रमा टेवा पुग्ने मन्त्री महर्जनले विश्वास व्यक्त गर्नुभयो ।

स्पोट्स इभेन्ट म्यानेजमेन्टमा मास्टर्स गरेका थापाले खेल र खेलाडीको वृद्धि विकासका लागि विभिन्न कार्यहरु संचालन गर्नुको साथै नेपालमा खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आइरहनुभएको छ । उहाँ नेपाल चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितिको सह अध्यक्षसमेत हुनुहुन्छ । मन्त्रालयले यसअघि खेल विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई समेत मनोनित गरिसकेको छ ।