मुलुकमा गत हप्ता आएको अविरल वर्षाले ठूलो जनधनको क्षति गरायो । सडक, पुल–पुलेसा भत्कियो । दुई सय भन्दा बढीको मानिसको मृत्यु भयो । भौतिक संरचना नष्ट भयो । सिङ्गो गाउँ–बस्ती डुवानमा पर्यो । संघीय राजधानी काठमाडौंसहित उपत्यकाका तीनै जिल्लामा मानिसहरुले असुरक्षित महसूस गरे । मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने पूर्वजानकारी गराएकै थियो । सबैलाई उच्च सतर्कतामा रहन भनेको थियो । लामो यात्रामा नजान र घरमै सुरक्षित भएर बस्न सबैलाई उसले सार्वजनिक आव्हान गरेको थियो । तर सरकारले त्यसलाई गम्भिरतापूर्वक लिएन । कतै सतर्कता अपनाईएन । विपद् व्यवस्थापनको पूर्वतयारी कतै देखिएन, गृहमन्त्रीको झुर कार्यशैली र अनूभवहिनताले गर्दा मुलुकले ठूलो नोक्सानी व्योहोर्नू परेको छ ।
मुलुकमा वर्षाले ताण्डव मच्चाइरहँदा सरकार प्रमुख संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका पुगेका थिए । दश दिन भ्रमण सकेर स्वदेश फर्कने क्रममा पत्रकारसँगको भेटमा प्रधानमन्त्रीले पहिरो कहिले जान्छ ? कसरी जान्छ ? कसरी थाहा हुन्छ ? भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिए । त्यति मात्र होइन अहिले वर्षातको नदिले साविककै बाटो लिँदा थुप्रै बस्ती डुवानमा परेको छ । तसर्थ नदि किनार अतिक्रमण वा अनाधिकृतरुपमा बनाइएका संरचना हटाउने बालेनको अडान ठिक रहेछ । जनताले बालेन ठिक छ भन्दैछन् नि प्रमज्यू भनेर सोध्दा राम्रो प्रश्न भन्दै प्रमले स्केप गरेर हिडेँ । अमेरिका पनि प्रवासी नेपालीले कालो झण्डा देखाउने तयारी थाहा पाएका प्रधानमन्त्रीले कार्यक्रममै सहभागी नहुने निर्णय गर्न पुगे । जताततै सरकारको विरोध र आलोचना तीव्र ढंगले बढेर गएको छ । केहि समयअघि टुँडिखेलमा केपि, शेरबहादुरको बिरुद्ध नाराबाजी भएको थियो । त्यो क्रम आजसम्म रोकिएको छैन । सरकार हरेक क्षेत्रमा असफल/अलोकप्रिय सावित हुँदैछ ।
प्राकृतिक विपद् कसैले रोकेर रोकिन्न तर सावधानी र सतर्कता अपनाउँदा क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । विपद्मा कतिपय कुरा मानिसको हातमा हुँदैन तर केही पूर्वतयारी गर्न सके त्यसबाट बच्न र बचाउन सकिन्छ । उदाहरणका लागि भारी वर्षा हुन्छ भन्ने मौसम पूर्वानुमान महाशाखाले भनिसकेपछि सवारी आवागमनलाई नियन्त्रण गर्न सकिन्थ्यो । राती चल्ने यातायात पूर्णतया बन्द गर्न सकिन्थ्यो । नदि किनारमा बसोबास गर्नेहरुलाई स्थानान्तरण गर्न सकिन्थ्यो । यि जस्ता अन्य उपाय अवलम्वन गर्न सकेको भए मानवीय क्षति न्यून गर्न सकिन्थ्यो । यस्तै सावधानी नअपनाउँदा मकवानपुरको सिस्नेरीमा ६ जना फुटबल खेलाडी बालकको अनाहकमा मृत्यु भयो । एन्फा एकडेमीले आवासीय विद्यालयमा राखेका ४० जना फुटबल खेलाडी बालकहरु थिए । भारी वर्षा र डुवानले सिस्नेरी बजार नै तहसनहस बनाइरहेको बेला माथि कुलेखानी ड्याम भरिएर ड्यामको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा ठूलो बाढी र लेदो आउने हुँदा सबैले सतर्कता अपनाउनुपर्ने जानकारी हुँदाहुँदै ति छ जना बालकलाई त्यहाँबाट किन जान दिइयो ? ति कसरी निस्के ? किन निस्के ? कसले जा भन्यो यिनलाई हेर्ने प्रशिक्षक के गर्दै थिए होलान ? यो कसको कमजोरी हो त्यसमाथि अनुसन्धान हुन जरुरी छ । दोषिमाथि कार्वाही गरिनुपर्छ । ताकि भविष्यमा यस्ता घटना फेरी नदोहोरियोस् ।
यस्तो बेला लापरवाहीले ज्यान जान सक्छ । अझ रात्रिकालिन यात्राका सबै सेवालाई यस्तो बेला चल्न दिइनु हुँदैन । त्यो अझ बढी जोखिमपूर्ण हुन्छ । केहि समय अघि काठमाडौंबाट हिँडेको बस र बीरगंजबाट छुटेको बस नारायणगढ–मुग्लिन सडकखण्डको सिमलटारमा माथिबाट आएको पहिरो र लेदोले दुबै बसलाई त्रिशुली नदीमा बगाइदिएर ठूलो दुर्घटना भएको सन्दर्भबाट पनि सरकारले पाठ सिक्न जरूरी छ । खै सरकारको ध्यान गएको ? तसर्थ सबै संयन्त्रलाई परिचालन गर्न यसपालि सरकारको कमजोरी देखिएकै हो ।
यो राष्ट्रिय विपद्मा खोज, उद्दार र राहतको काममा नेपाली सेनाको भूमिका बरू उल्लेखनीय देखियो । जब–जब देशमा संकट देखिन्छ सेना अग्रभागमा रहन्छ । कोभिड–१९ होस्, भूकम्प होस् वा बाढीपहिरो अन्य विपद्हरूमा सेना जनताको साथी भएर देखा पर्छ । एकथरी नेताहरू खर्च कटाउन सेनाको संख्या घटाउनेदेखि सेनाविहिन राज्यको कल्पनासम्म गर्छन् । हाम्रो जस्तो देशमा सेनाको महत्वपूर्ण भूमिका रहँदै आएको छ । नेपाली सेनाको ईतिहास गौरवमय छ । देशको सार्वभौमसत्ता र अखण्डाको रक्षामा पनि सेनाको गर्विलो इतिहास रहेको छ । राष्ट्रिय विपद्मा सबै मिलेर समस्याको समाधान खोज्ने हो न कि यसको फाईदा उठाउन तिर लाग्ने । संकटको अवस्थाको फाईदा उठाएर हवाई यातायातको भाडा चर्को लगाउने जस्ता काम भएका छन् जून सर्वथा अनुचित छ । त्यस्मा सरकारको ध्यान जाओस् र सरकारले तीव्ररूपमा राहतको प्याकेज पुनःस्थापनाका कार्यक्रम ल्याउन जरूरी छ ।
बाढीपीडितहरुको अवस्था नाजुक छ । ठूलो संख्यामा जनता घरबारबिहिन भएका छन् । बेपत्ता भएका छन् । धेरै मानिसको सम्पत्ति बाढीले बगाएर घरबारबिहीन भई सडकमा पुगेको अवस्था छ । सरकारले तत्काल तिनको बसोबासको व्यवस्था मिलाउन जरूरी छ । संघीय राजधानीसँग जोडिएको बाटाहरुको सम्पर्क टुटेको छ । पहिरोले भत्केको पूल, बाटो लेदो पन्छाएर बाटो सुचारू नहुँदा जनताले ठूलो सास्ती पाएका छन् । यहि बेला दशैं, तिहार जस्ता चाडपर्वले छोपिसकेको छ । महंगी बढेको छ । जनजीवन कष्टप्रद हुँदै गएको छ । चौतर्फी मारमा परेको जनतालाई यसपालि दशैं, तिहारमा शुपथ मूल्यको पसल सञ्चालन गरेर राहत प्रदान गरौं । कालो बजारीया बढेको छ । त्यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले कडा कदम चालोस् । राष्ट्रिय विपद्मा सबैको ऐक्यवद्धता, सहयोग र साथ एक आपसमा हुँदा त्यसले आत्मबल बढाउँछ नै, हरेकपल्ट आउने बाढी–पहिरो, अतिवृष्टी–अनावृष्टी, भूक्षय, भूकम्प जस्ता प्राकृतिक विपद्को जोखिमलाई ख्याल गरेर त्यसको पूर्वतयारीका लागि तयारी र चनाखो रहन किन सम्बन्धित निकाय चुकी रहन्छ ? अब त चेतौं आगे जो विचार । अस्तू ।