चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा विभिन्न जातजाति तथा समुदायका मानिसहरुले विशेषरुपमा मान्ने र विभिन्न देवीदेवताको पूजा आरधना गरी मिठो खाई नाचगान गरी रमाइलो गर्ने दिन हो । हाम्रो देश नेपाल भौगोलिकमात्र होइन, जाति, भाषा, धर्म, संस्कृति, रितीरिवाज, भेषभूषामा विविधता छ । यही विविधताका कारण नेपालमा हरेक दिनजसो कुनै न कुनै चाडपर्व परिरहेका हुन्छन् । चाडपर्व पारिवारिक वा सामाजिक सम्बन्धलाई मजबुत पार्ने तथा नवीकरण गर्ने आधार हो । हामीले मनाउने अधिकांश चाडपर्वसँग धार्मिक मान्यताहरु जोडिएका छन् ।

चाडपर्वलाई मानव स्वास्थ्य र वातावरणका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । प्रकृति तथा यहाँ पाइने जीवजन्तुमैत्री बनाउन पनि चाडपर्वले सहयोग गर्दै आएको छ । चाडपर्व मनोरञ्जनको एउटा अवसर पनि हो । नेपालमा हिन्दू धर्मको बाहुल्य रहेका कारण हिन्दूहरुले मनाउने चाडपर्वले विशेष चर्चा तथा महत्व पाउने गरेको छ । दशैं, तिहार, छठजस्ता चाडपर्वले नेपाली समाजमा निकै महत्व राख्दछ । यस वर्षको दशैं सुरु भइसकेको छ । दशैंपछि तिहार, छठजस्ता अन्य महत्वपूर्ण चाडपर्व आउने गर्दछन् ।

महत्वपूर्ण चाडपर्वलाई हर्षोल्लासका साथ मनाउने सबै नेपालीको चाहना हुन्छ । रमाइलो वातावरणमा चाडपर्व मनाउने इच्छा सबैको पूरा हुन सक्दैनन् । चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप, चाडपर्वको नाममा हुने विकृति र चाडपर्वलाई अवसर ठानेर गरिने गैरकानुनी कार्यले चाडपर्वलाई खल्लो बनाउने गरेको छ । हरेक वर्ष दशैं, तिहारको समयमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्दै आएको छ । यस वर्ष पनि मकवानपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा रणनीतिअनुसार शान्ति सुरक्षाको काम अघि बढाइसकेको छ । प्रहरीले यात्रुको सहायताको लागि हेल्पडेस्क सञ्चालनमा ल्याएको छ । दशैं सुरु हुनु केही दिनअघि अविरल वर्षाका कारण निम्तिएको विपद् व्यवस्थापनमा प्रहरी परिचालन भइरहेको सन्दर्भमा चाडपर्व लक्षित सुरक्षा योजनामा पर्याप्त ध्यान नपुग्ने सम्भावना देखिएको छ ।
अरुबेलामा भन्दा चाडपर्वमा बजारमा मानिसहरुको चहलपहल बढ्ने गर्दछ । बजारमा चाडपर्वका लागि विभिन्न सामान किनमेल गर्नेको भीड लाग्छ । स्थानीय यातायातका साधनहरुमा यात्रुको चाप बढ्छ । दशैं, तिहार, छठको समयमा सबैजना आफ्नो घर जान चाहने गरेका कारण लामो तथा छोटो दुरीका सवारी साधनमा पनि यात्रुको चाप उल्लेख्य रहन्छ । चाडपर्वको समयमा सबैजसो व्यापार–व्यवसाय वृद्धि हुन्छ । सबै क्षेत्र चलायमान भएसँगै अव्यवस्था र आपराधिक क्रियाकलाप पनि बढ्छ नै ।

भिडभाडमा पकेट मार्ने तथा चोरी गर्ने गिरोह सक्रिय हुनसक्छ । यात्रु चाप बढी भएपछि सवारी साधनमा क्षमताभन्दा बढी यात्रु चढाउने र यात्रुसँग बढी भाडा असुल गर्ने सम्भावना पनि रहन्छ । चाँडो गन्तव्यमा पुगेर फर्कने होडबाजीले तिब्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम हुन्छ । बजारमा किनमेल गर्नेको घुइँचो लागेसँगै मिसावट गर्ने, बढी मूल्य लिने, गुणस्तरहीन वस्तु बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेजस्ता कालाबजारीले प्रोत्साहन पाउँछ ।

दशैं सुरु भइसक्दा सुरक्षा संवेदनशीलतालाई लक्षित गरी स्थानीय प्रशासन तथा सुरक्षा निकायले शान्ति सुरक्षाका विशेष योजना अघि सारेका छन् । दशैं, तिहारजस्ता महत्वपूर्ण चाडपर्वको बेलामा प्रहरीले अघि सारेका सुरक्षा रणनीतिले शान्ति सुरक्षा कायम गर्न र दुर्घटना कम गर्न सहयोग गर्ने गरेको भए पनि पूर्ण प्रभावकारी नभएको विगतका घटनाले प्रष्ट हुन्छ । चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र विकृतिजन्य कार्य रोक्न सुरक्षा निकायका साथै सम्बद्ध सबै पक्ष चनाखो बन्नु आवश्यक छ ।

चाडपर्वको मूल्य, मान्यता र गरिमा कायम गर्न आम नागरिकले पनि पर्याप्त ध्यान दिनुपर्छ । सबैले चाडपर्वलाई रमाइलोसँग मनाउने वातावरण तयार हुन सकेमा चाडपर्वको महत्व बढ्दछ । कसैका लागि पनि दशैं दशा नबनोस् । सबैले हर्ष र उमंगका साथ दशैं मनाउन सकून् ।