हेटौंडाः हेटौंडामा जारी ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा सेमिफाइनका दुई खेल सम्पन्न भएसँगै फाइनल समीकरण पूरा भएको हो ।

आज आइतबार हुने फाइनल खेलमा उपाधिका लागि कुमारी एफसी र नागस्वती एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।
शनिबार भएको पहिलो सेमिफाइनल खेलमा ढेडो एफसीलाई ३–० गोलले हराउँदै कुमारीले फाइनलको यात्रा तय गरेको हो । कुमारीको जीतमा विश्व लामाले ह्याट्रिक गरेका छन् । उनले खेलको १३, १८ र २३ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । म्यान अफ द म्याच पनि ह्याट्रिक गरेका लामा नै घोषित भए ।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा आयोजक भुटनदेवी क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै नागस्वतीले फाइनलको यात्रा पूरा गरेको हो । निधारित समय एक–एक गोलको बराबरीमा रोकिएपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । भुटनदेवीबाट रितेश श्रेष्ठ र नागस्वतीबाट नैतिक थापले गोल गरेका थिए ।

प्रतियोगितामा २३ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले क्रमशः ५० हजार र २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।