हेटौँडाः नेपाल बैंक लिमिटेडको हेटौँडास्थित शाखा कार्यालयले घटस्थापनादेखि दसैंका लागि सुकिला नोट साट्ने भएको छ । नेपाल बैंकले पाँच, १०, २०, ५० र एक सय दरका सुकिला नोट वितरण गर्ने जनाएको छ ।
तीन करोड रुपैयाँ बराबरको सुकिला नोट वितरण गर्ने नेपाल बैंकको हेटौँडा शाखा प्रबन्धक तेजप्रसाद नेपालले जानकारी दिनुभयो । नेपाल राष्ट्र बैंकले गत वर्षदेखि नयाँ नोट बाँड्न छाडेको छ । नेपाली समाजमा वडा दसैंमा विजयादशमीको टिका, जमरासँगै दक्षिणाको रुपमा नयाँ नोटसहित आशीर्वाद दिने अभ्यास थियो । राष्ट्र बैंकले नयाँ नोट नबाँड्ने जनाएसँगै बैंकहरुले सुकिला नोट संकलन गरी वितरण गर्ने गरेको छ ।
नेपाल बैंकले घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि सेवाग्राहीको सहजताका लागि भने सुकिला नोट वितरण गर्न लागेको जनाएको छ । “बिदाको दिन सर्वसाधारणले बैंकमा आएर सुकिला नोट साट्न सजिलो हुने ठानेर बिदाको दिन पनि सेवा दिने तयारी गरेका छौं”, शाखा प्रबन्धक नेपालले भन्नुभयो ।