हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा शिक्षा योजना निर्माणको तयारी भएको छ । आइतबार पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षा योजना निर्माणका लागि सरोकारवालाहरुसँग छलफल तथा कार्यदलको सुझाव प्रस्तुतिकरण गरेको हो ।
शिक्षा योजना निर्माणका पालिकाले काम अघि बढाएको शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो । पालिकाले ५ वर्षे शिक्षा योजना निर्माण गर्ने प्रयास गरेको उहाँले बताउनुभयो ।
गत भदौ २६ गते शिक्षा योजना निर्माणका लागि पहिलो चरणको अभिमुखीकरण कार्यक्रम आयोजना गरेकोमा आइतबार दोस्रो चरणको कार्यक्रम गरेर १५ वटा कार्यदलको समिति निर्माण गरेको उहाँले बताउनुभयो । कार्यक्रममा १५ वटा कार्य दलले करिब १५ मिनेटसम्म शिक्षासम्बन्धी सुझाव दिएको उहाँले बताउनुभयो । सामाजिक विकास समितिका संयोजक अनन्तप्रकाश अर्यालको सभाध्यक्षतामा शिक्षा योजना निर्माणसम्बन्धीको दोस्रो चरणको कार्यक्रम भएको हो ।
कार्यक्रममा बाल विकास, आधारभूत शिक्षा, माध्यमिक शिक्षा र अनौपचारिक शिक्षाको बारेमा प्रस्तुतिकरण गरिएको उहाँले बताउनुभएको छ । पहिलो चरणको कार्यक्रमबाट १५ दलीय समितिको निर्माण भएको उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, शिक्षा समितिका पदाधिकारी, विद्यार्थी, शिक्षक र विभिन्न विद्यालयका प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।