कुलेखानी जलविद्युतको जलाशयको ड्याम खोलेपछि बगेको पानी ।

हेटौँडाः कुलेखानी जलाशय ओभर फ्लो भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निरन्तरको वर्षाका कारण जलाशयमा पानीको सतह बढीरहेको र पछिल्लो समय कुलेखानी जलाशयमा क्षमता भन्दी बढी पानी संकलन भएकाले बाँध माथिबाट बगिरहेको जनाएको छ ।

बाँधमा पानीको मात्रा बढ्दै शनिबार बिहानबाट २ वटा ढोका खोलेर पानी निकास गरिएकाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभएको छ । उहाँका अनुसार वर्षा भइरहेकाले बाँधको सुरक्षाका लागि आवश्यकता अनुसार थप ढोकहरु खुल्ला गर्नुपर्ने अवस्था आउने भएकाले सचेत रहन सुचित गरिएको हो ।

“पछिल्लो केही दिनदेखि भइरहेको निरन्तरको भारी वर्षा एवम् जलाधार क्षेत्रबाट भइरहको पानीको उच्च बहावका कारण इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत केन्द्रको बाँधमा पानीको सतह बढ्न गएको हो । जलविद्युत केन्द्रबाट विद्युत उत्पादनको कार्य शुरु गरिएको र बाँधमाथिबाट पानी ओभरफ्लो समेत भइरहेको भए तापनि जलाशयमा क्षमताभन्दा बढी पानी भरिएको छ ।” सूचनामा उल्लेख छ, “बाँधको सुरक्षालाई मध्यनजर गरी असोज १२ गते विहान ४ः५० बजे बाँधका २ वटा ढोका खोली पानी निकासको कार्य भइरहेको छ । बाँधको सुरक्षार्थ हाल २ वटा ढोकाहरु खोलीएका र जोखिमको आधारमा थप ढोकाहरु समेत खोल्नुपर्ने अवस्था देखिन सक्ने भएको हुँदा कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरुमा एक्कासी बाढी आउन सक्छ ।”

प्रजिअ चिलुवालका अनुसार कुलेखानीदेखि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु अनुरोध छ । सम्बन्धित स्थानीय तहका स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई समेत उच्च सतर्क र सुरक्षित स्थानको पूर्वतयारीमा रहन उनले निर्देशन गरेका छन् । निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउन सक्ने बाढी, पहिरो, डुवान लगायतका अवस्थालाई मध्यनजर गरी सुरक्षा निकायहरूलाई उच्च सतर्क अवस्था राखिएको उहाँले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट व्यवस्थापनको कार्यका लागि आवश्यक तयारी समेत भइसकेको उहाँको भनाई छ ।