कान्तिलोकपथको बकैया–१२, घट्टेपाखामा खसेको पहिरो ।

हेटौँडाः हेटौंडा–काठमाडौं जोड्ने सबै सडकहरु बन्द भएका छन् । पहिरोका कारण हेटौंडा काठमाडौं जोड्ने लामो तथा छोटा दुरीका मार्गहरु बन्द भएका हुन् ।
बिहिबारदेखि भएको अरिवरल वर्षाका कारण हेटौंबाट काठमाडौं जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र शिभुवन राजपथ पहिरोले अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथको ललितपुरको भट्टेडाँडा, मकवानपुरको घट्टेपाखा, आँपचौर, लाम्राङमा पहिरो खसेकाले सडक बन्द भएको हो । छोटो दुरीको भीमपेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं सडक खण्डको खानीखेला, सिमखोलामा बाढीले आवतजावत ठप्प भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार सिस्नेरीबाट माथिल्लो क्षेत्रमा विभिन्न स्थानमा पहिरो खेसेको छ । इन्द्रसरोवर–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको छ ।

कुलेखानी फाखेल काठमाडौं सडक खण्डको महालक्ष्मी खोलाको बाढीले सडक अवरुद्ध गरेको छ । प्रहरीका अनुसार उक्त सडक खण्डमा वर्षाका कारण सा–साना पहिरोहरु खसेको छ । कुलेखानी मातातीर्थ काठमाडौंमा पनि पहिरोले सवारी आवागमन ठप्प छ । छोटो दुरीको मार्गको प्रवेश मार्ग भैंसे–भीमफेदी सडक खण्डमा पनि पहिरो खेसेको प्रहरीको भनाई छ । भीमफदीको धोर्सिङमा पहिरो खस्दा सडक बन्द भएको हो ।

यता त्रिभुवन राजपथको थाहा नगरपालिका–५ मा पहिरो खस्दा सडक बन्द भएको छ । दामन क्षेत्रमा पहिरो खस्दा यातायात सेवा ठप्प भएको प्रहरीको भनाई छ । वर्षा निरन्तर भइरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको बताइएको छ ।