शिविरमा आँखा परीक्षण गर्दै स्वास्थ्यकर्मी ।

हेटौँडाः हेटौँडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ को समन्वयमा हेटौँडा–१, बाँझोडाँडामा बुधबार आँखा शिविर भएको छ । नकौली आधारभूत शहरी स्वास्थ्य केन्द्र, बाँझोडाँडामा भएको शिविरमा एक सय ४० जनाको आँखाको परीक्षण गरिएको वडा सदस्य ईश्वरी रसाइलीले जानकारी दिनुभयो ।

शिविरमा १३ जनाको आँखामा मोतिविन्दु र एक जनाको आँखामा जलविन्दु पाइएको छ । आँखामा समस्या भएकाहरुलाई औषधी वितरण गरिएको थियो । शिविरमा मोतिविन्दुको समस्या देखिएकाहरुको हेटौँडा सामुदायिक आँखा अस्पतालले निशूल्क उपचार गरिदिनेछ । शिविरमा अप्थाल्मिक अफिसर रिना खड्गी, नेत्र सहायक धर्मराज यादव र आई हेल्थ वर्कर अचला शर्माले परीक्षण गर्नुभएको थियो । वडा अध्यक्ष सविन न्यौपानेको अध्यक्षतामा शिविरको उद्घाटन कार्यक्रम भएको थियो ।