हेटौँडाः शब्द बनाउने प्रतिस्पर्धात्मक खेल स्क्राबलको जिल्लास्तरीय चौथो च्याम्पियनसीप बुधबार हेटौँडामा सम्पन्न भएको छ । स्क्राबल क्लब मकवानपुरको आयोजना तथा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलको प्रायोजनमा प्रतियोगिता भएको हो । प्रतियोगितामा मकवानपुर जिल्लाका २३ वटा विद्यालयबाट ४६ जना विद्यार्थी सहभागी थिए ।
सहभागी मध्ये उत्कृष्ट पाँच सहभागीलाई छनोट गरिएको छ । प्रतियोगितामा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका आरुश राजथला प्रथम, बालजागृतिकै श्रीसुम श्रेष्ठ द्वितीय हुँदा हेटौँडा–६ स्थित सुनगाभा शिक्षा निकेतनका अमोघ चौलागाई तृतीय, हेटौँडा–४ स्थित भुटनदेवी माविका प्रशान्त साह चौथो भएका छन् । मकवानपुरबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी भइसकेका बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका प्रसिद्ध तिमल्सिना भने स्वतः छानिएका छन् । प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने विद्यार्थीलाई ट्रफीसहित प्रमाणपत्र वितरण गरिएको छ । उत्कृष्ट पाँच खेलाडीले आगामी कात्तिक ९ गते गुल्मी जिल्लामा हुने राष्ट्रिय स्क्राबल च्याम्पियनसीपमा सहभागिता जनाउनेछन् ।
स्क्राबल ३ चरणमा खेलाइएको थियो । प्रत्येक चरण ४५ मिनेटको खेलाइएको स्क्राबल क्लब मकवानपुरका संयोजक विवश जंग थापाले जानकारी दिनुभएको छ । प्रतियोगितामा ६ वटा सामुदायिक तथा १७ वटा निजी विद्यालयका विद्यार्थी सहभागी थिए । एउटा विद्यालयबाट दुईजना विद्यार्थी सहभागी हुने व्यवस्था मिलाइएको थियो । च्याम्पियनसीपमा स्क्राबल क्लब नेपालका तालिम संयोजक भोजराज सुवेदी र बारा जिल्ला संयोजक सुवास अधिकारीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
बालजागृति इंग्लिस सेकेण्डरी स्कूलको व्यवस्थापन समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षता तथा वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरी, वडा सदस्य सुरज बर्तौला, ईन्द्रप्रसाद रिजाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) का केन्द्रीय समिति उपाध्यक्ष उमेश श्रेष्ठ, जिल्ला अध्यक्ष विनोद सुवेदी, स्क्राबल क्लब मकवानपुरका संयोजक विवशजंग थापाको पनि आतिथ्य रहेको थियो ।
एकदिवसीय प्रतियोगिता आयोजनाका लागि करिब एक लाख रुपैयाँ खर्च हुने बताइएको छ । विद्यार्थीको शब्दज्ञान अभिवृद्धि हुने भएकोले पछिल्लो समय मकवानपुरका स्क्राबल खेलको प्रवद्र्धन भइरहेको छ । गत असारमा बालजागृति इंग्लिस स्कूलकै आयोजनामा स्क्राबल खेलसम्बन्धी एकदिवसीय जिल्लास्तरीय कार्यशाला समेत आयोजना गरिएको थियो ।