हेमप्रसाद अधिकारी ।

हेटौँडाः हेटौँडा–७, नागस्वतीस्थित नवज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद अधिकारीले राजिनामा दिनुभएको छ । अध्यक्ष अधिकारीले भदौ २५ गतेको मितिमा लेख्नुभएको राजिनामा भदौ २६ गते वडा अध्यक्ष दामोदर गौतमलाई बुझाउनुभएको थियो । उहाँको राजिनामा असोज ३ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको वडाअध्यक्ष गौतमले जानकारी दिनुभएको छ ।

प्रधानाध्यापक ज्ञानेन्द्र दाहालले व्यवस्थापन समितिको सहमतिबिना नै काज सरुवा लिएर हिँडेपछि आफ्नो औचित्य नदेखेर राजिनामा दिएको अधिकारीले बताउनुभएको छ । विद्यालयको अवस्था नाजुक भइरहेका बेला व्यवस्थापन समितिलाई जानकारी नै नदिई पालिका र वडाले प्रधानाध्यापकको काज सरुवा गरेपछि राजिनामा गर्न बाध्य भएको अधिकारीको भनाइ छ । “व्यवस्थापन समिति विद्यालयको सहयोगी संरचनाको रुपमा रहने गरेको छ । म विद्यालयको सुधारका लागि आएको थिएँ । प्रधानाध्यापकको निरन्तर असहयोग रह्यो । प्रधानाध्यापकको असक्षमता पनि उत्तिकै रह्यो”, व्यवस्थापन समिति अध्यक्ष हेमप्रसाद अधिकारीले भन्नुभयो, “व्यवस्थापन समितिको सहमतिबिना नै पालिका र वडाले प्रधानाध्यापकको सरुवा गर्ने भएपछि काम गर्ने वातावरण रहेन । प्रधानाध्यापक हिँड्नु भएको २ दिन जति सरसल्लाह र समन्वय गरेँ । त्यसपछि राजिनामा दिनु उचित लागेर राजिनामा गरेँ ।”

प्रधानाध्यापक दाहालले भने व्यवस्थापन समितिको असहयोगका कारण सरुवा लिएर हिँड्न बाध्य भएको बताउनुभएको छ । प्रधानाध्यापक दाहाल व्यवस्थापन समितिको सहमति बिना नै भदौ २० गतेको मितिमा काज सरुवा लिएर भदौ २३ गतेदेखि विद्यालयमा अनुपस्थित रहनुभयो । प्रधानाध्यापक दाहाल नगर शिक्षा समितिको सदस्य समेत हुनुहुन्छ ।

यता वडाअध्यक्ष दामोदर गौतमले व्यवस्थापन समिति र प्रधानाध्यापक ज्ञानेन्द्र दाहालबीचको विवादले समस्या सिर्जना भइरहेको बताउनुहुन्छ । प्रधानाध्यापकको मागअनुसार सरुवाका लागि वडाले स्वीकृत दिएको उल्लेख गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीलाई राजिनामा नगर्न आग्रह गर्दा पनि नमान्नुभएपछि राजिनामा स्वीकृत गर्न बाध्य भएको वडाअध्यक्ष गौतमले बताउनुभयो । वडा अध्यक्षको अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको असोज ३ गतेको बैठकले अध्यक्ष अधिकारीको राजिनामा स्वीकृत गरेको वडाअध्यक्ष गौतमले बताउनुभयो ।

हेटौँडा–७ नागस्वतीमा १० कक्षासम्म पठनपाठन हुने विद्यालयमातहत नै हेटौँडा–७, न्यूरेनीमा अपाङ्गता भएका विद्यार्थीहरुका लागि विशेष विद्यालय सञ्चालनमा रहेको छ । दुबैतर्फ गरेर चालु शैक्षिक सत्रमा विद्यार्थी भर्नाको विवरण दुई सय ४३ जना छन् । एक मात्रै मावि दरबन्दीका प्रधानाध्यापक दाहाल सरुवा लिएर जानु भएपछि निमावि तहका शिक्षक विमल गौतमलाई वडा अध्यक्ष दामोदर गौतमले प्रधानाध्यापकको जिम्मेवारी दिनुभएको छ । विमल गौतम वडाअध्यक्ष दामोदर गौतमको आफ्नै भाइ हुनुहुन्छ ।